अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : थापा



काठमाडौं । 

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले अर्थमन्त्रीमाथि संसद्भित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने माग गरेको बताउनुभयो ।

उहाँले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ ।’

कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने नियम रहेको तर अर्थ मन्त्रालयले त्यो नियम पनि नमानेको उहाँले बताउनुभयो । कांग्रेस महामन्त्री थापाले अर्थमन्त्रीमाथि लागेको आरोप त्यत्तिकै सेलाउन दिन नहुने जिकिर गर्दै भन्नुभयो–‘प्रश्न उठिसकेपछि अब तत्काल अर्थमन्त्रीले राजीनामा दिने वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने ।’

अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको र करको दर हेरफेर गराएको आरोप लागेको छ । नेकपा एमालेले संसद्मा यो विषय उठाउँदै संसदीय छानबिन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्