संसदीय निर्वाचन कात्तिकको अन्तिम साता गर्न प्रस्ताव



काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आगामी कात्तिक महिनाको ३० गते प्रस्ताव गर्ने तयारी गरेको छ ।
आयोगका एक पदाधिकारीले नेपाल समाचारपत्रलाई सोमबार दिएको जानकारीअनुसार कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी असार मसान्तभित्र मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भइरहेको छ ।

निर्वाचनको मिति आयोगसँगको परामर्शमा सरकारले तोक्ने कानुनी प्रावधान रहेको छ ।निर्वाचनको तयारीको लागि सामान्यतया १ सय २० दिन (चार महिना) अघि मिति घोषणा हुनुपर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । केही दिनअघि मात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणाका बारेमा अनौपचारिक छलफल गरेका थिए । त्यस क्रममा प्रधानमन्त्रीले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरूले प्रक्रिया अघि बढाउने बताएको आयोगका एक पदाधिकारीले बताए ।

आयोगले दशैं बिदा सकिएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको मनोनयन प्रक्रिया शुरू गर्ने योजना बनाएको छ । आगामी असोज १० देखि २३ असोजसम्म दशैं बिदा पर्छ । दशैं सकिएलगत्तै मनोनयन दर्ता प्रक्रिया थाल्ने र असोजको अन्तिम साताभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले तयारी गरेको हो । त्यसो हुँदा उम्मेदवारले दशैंपछि तिहार सकिएपछि पनि चुनाव प्रचारप्रसार गर्न पाउँछन् । आयोगले प्रस्ताव गरेको मिति तिहारको करिब २० दिनपछि पर्छ ।

आयोगले असार मसान्तभित्र सरकारबाट निर्वाचनको मिति घोषणाको अपेक्षा गरेको छ । मिति घोषणा भएलगत्तै आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निकाल्ने छ । त्यसलगत्तै दलहरूलाई समानुपातिक उम्मेदवारहरूको सूची पेस गर्न समय दिनेछ ।

आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखहरूसँग पछि निर्वाचनबारे छलफल गरेको थियो । छलफलपछि एकै चरणमा निर्वाचन गर्न सकिने मनस्थिति बनाएको बुझिएको छ ।गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीको संख्या कम हुँदा कतिपय ठाउँमा निर्वाचन बिथोलिएको आयोगले आन्तरिक निष्कर्ष निकालेको थियो । तर पनि दुई चरणमा निर्वाचन गर्दा बढी खर्च हुने भएकाले आयोगले एकै चरणमा जोड दिएको छ ।

आयोगले अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गरिरहेको छ । प्रवक्ता शर्मा पौडेलले अहिले देशभर दैनिक २५ हजारको हाराहारीमा नामावली संकलन भइरहेकाले असारभरिमा करिब ७ लाख जति नयाँ मतदाता थपिने अनुमान गरिएको बताउनुभयो । निर्वाचनको मिति घोषणा हुनासाथ मतदाता नामावली संकलन रोकिने छ ।

आयोगले अहिले मतदानस्थल र मतदान केन्द्रको पनि पुनरावलोकन गर्ने योजना बनाएको छ । कतिपय ठाउँमा मतदाताहरू टाढा हिँड्नु परेको र कतिपय ठाउँका मतदातालाई अर्को अपायक ठाउँमा मतदान केन्द्र तोकिएकाले त्यसलाई मिलाउने काम भइरहेको आयोगले जनाएको छ । मतदान स्थल र केन्द्र पुनरावलोकनका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सिफारिस गर्नुपर्छ । आयोगले केही दिनमै विद्युतीय मतदान यन्त्रका बारेमा पनि सरकारसँग थप छलफल गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्