हप्तैपिच्छे मन्त्री हेरफेर



काठमाडौं । 

सत्तारुढ दलहरूबीच मन्त्री परिवर्तन गर्ने होडबाजी चलेको छ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको एक साता बित्न नपाउँदै फेरि मन्त्रीहरू हेरफेर भएका छन् ।

सत्तारुढ दल जनता समाजवादी पार्टीको सिफारिसअनुसार तीन जना नयाँ मन्त्रीले सोमबार शपथ लिएका छन् । जसपाले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै तीन जनालाई मन्त्री बनाउने निर्णय गरेको थियो । सोमबार नियुक्त भएका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरू मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ गराउनुभएको हो । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा राईले भौतिक पूर्वाधार, सिंहले कृषि तथा पशुपंक्षी र यादवले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । मन्त्रीहरूले शपथ समारोहपछि सोमबार नै सिंहदरबारमा आ–आफ्ना मन्त्रालयमा आई पदभार ग्रहण गरेका छन् ।

जनता समाजवादी पार्टीले मन्त्रीहरू महिन्द्र राय यादव, रेणुुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर तीन जना नेतालाई मन्त्रिपरिषद्मा पठाएको हो । जसपाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई पनि फिर्ता बोलाएको छैन ।यसैबीच सत्तारुढ दल नेकपा एकीकृत माओवादीभित्र पनि मन्त्री हेरफेर गर्नुपर्ने दबाब बढेको छ । सत्तारुढ दलबीच नेताहरूको व्यवस्थापन गर्नका लागि ६-६ महिनामा मन्त्री हेरफेर गर्ने प्रक्रिया चलेको छ ।

प्रतिक्रिया दिनुहोस्