‘यो पूरै ब्रह्माण्ड सञ्चालन गर्ने केही अवश्य हुनुपर्छ’

0
Shares

भोलि वि.सं. २०७९/०३/०८ मा मेरो मृगौलाको पत्थरीको चिरफार (अपरेसन) हुने कार्यक्रम तय भएको छ । अपरेसनको एक दिनपूर्व अर्थात् ७ गते यो लेखन कार्य गर्दै छु । यस बुढेसकालमा मुटु, खुट्टाको हाड खिइने, प्रोस्टेट आदि समस्याले अलि सताएको छ तर यसलाई नखोतल्नु नै बेस ठानेको छु ।

अब लक्ष्यतिर लम्कौँ । मेरी श्रीमतीको मृत्युपश्चात् ‘सानु जीवन दर्पण’ नामक कृति वरिष्ठ पत्रकार भैरव रिसाल, पूर्व–सहायक रथी डा. खगेन्द्रबहादुर श्रेष्ठ, पूर्व–प्रधानाध्यापक चक्रेश्वर योगेन्द्र रत्न (भाइराजा) वज्राचार्यसहितको प्रमुख आतिथ्यमा लोकार्पण गरेको थिएँ । सो पुस्तकमा मैले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मरणोपरान्त शरीर दान गरेको कागजातसमेत समावेश गरेको थिएँ ।

हाल उपचारको क्रममा डाक्टरले मलाई अलि–अलि जोखिम त छ भन्दा चस्स बिझ्यो र केही नहुने, दुर्घटना वा मृत्यु नै वरण भएमा कर्तव्यपथमा कचकच, व्यवधान, अप्ठ्यारो, रोकावट होला कि भन्ने मनसायले लेखमा समावेश गरिएको हो । घर–परिवारमा अलि–अलि गाइँगुइँ, चियोचर्चो, नाइँनास्ती भए तापनि आखिर मेरो इच्छा र अभिलाषा पूर्ण हुनेमा निर्धक्क र विश्वस्त छु । टोलवासीहरुमा समेत कुरा काटाकाट र केही गन्थन बढ्नुमा नकारात्मक सोच लिनु व्यर्थ देखिन्छ ।

अनि म जन्मनुपूर्व, जन्मेपछि र मरणोपरान्त पनि रहने र रहिरहेको यस सृष्टि अर्थात् ब्रह्माण्डमा ईश्वरको अनुपस्थिति र उपस्थितिबारे समेत बहस चल्न सक्नेछ तर हात लाग्यो शून्य भनेजस्तै उत्तर निराशाजनक हुन्छ । कसैले ब्ल्याक होल फुटेर यस ब्रह्माण्ड रचना भएकोले ईश्वरको उपस्थितिबारे नकारात्मक भाव व्यक्त गर्दछन् भने कसैले ब्रह्माण्डमा ईश्वरको उपस्थितिबारे आफ्नो सदासयता, आस्था र श्रद्धा जगाउँछन् ।

यस सन्दर्भमा मैले पनि आफ्नो विचार र भावना यस लेखमा पोख्ने जमर्को गरेको छु । ब्रह्माण्डमा सृजित अर्बौं अर्ब मानिसहरुमध्ये कसैको पनि बूढी औंलाको सहीछाप एक–अर्कासँग दुरुस्त भएको पाइएको छैन । यसैलाई सत्य मानी विभिन्न कारोबारमा समेत औंठाछापको आधारमा छिनोफानो लगाइने गरेको छ । दोस्रो कुरो, मानिसको मृत्युपछि औंठाछाप पनि हराउँछ अर्थात् रगत सुक्ने भएका कारण कागजमा औंठाछाप आउँदैन रे ! यत्ति मात्र नभई ब्रह्माण्डका कुनै पनि मानिसको अनुहार एक–अर्कासँग ठ्याक्कै नमिल्नुको साथै डीएनए पनि फरक–फरक हुन्छ ।

अझ खोजिनीति नै गर्दै जाने हो भने ब्रह्माण्डमा यस्तो अलौकिक, अनौठो, अकल्पनीय र आश्चर्यचकित रचना र घटना आफ्से आफ् उत्पत्ति र उब्जेको भन्दा जो–कोहीलाई पनि पत्यार लाग्न गाह्रै हुन्छ । अझ अनुसन्धान र अन्वेषण गर्दै जाने हो भने यस्ता थुप्रै विचित्र रचना र घटनाहरु भेटिने र पाइने कुरामा समेत सन्देह छैन । तसर्थ ब्रह्माण्डमा ‘कोही न केही त अवश्य छ’, जो यस ब्रह्माण्डको सृष्टि, पालन र संहारको अभिभारासहित अस्तित्वमा रहेको छ भन्ने मेरो निष्कर्ष रहेको छ ।

उसलाई आ–आफ्नो भाषा, सेवा र सुविधा अनुकूल कृष्ण भगवान्, विष्णु भगवान्, नारायण, ब्रह्मा, शिव, पार्वती, गणेश, सरस्वती, लक्ष्मी, जिसस क्राइस्ट, अल्लाह, ईश्वर, भगवान्, विधाता, परमात्मा आदि नामोच्चारण र सम्बोधन गरी पुकारौं । अनि इहलोक र परलोकको न्याय–निसाफ, धर्म–अधर्म, लाभ–हानि, दण्ड–सजाय तथा इनाम र पुरस्कारको जिम्मा पनि उनै विधातालाई सुम्पिऔं ।

(लेखक वज्राचार्य का.म.पा.–१२, ब्रह्मटोल निवासी हुनुहुन्छ । यी हरफहरु अपरेसन हुनुभन्दा अघिल्लो दिन उहाँले लेखेका निजी विचार हुन् । उहाँ अपरेसनपछि स्वास्थ्य लाभ गरिरहनुभएको छ ।)