गाउँबाट जनप्रतिनिधिहरूलाई केही सल्लाह

0
Shares

नेपाल बदलिँदो परिवेशमा उभिएको छ । नेपालीहरू फेरिँदा परिचयमा देखिँदा छन् । दुई महिनाअघि मात्र देशैभरिका गाउँ-नगर-उपमहानगर र महानगरपालिकाहरूमा नयाँ जनप्रतिनिधिहरू विभिन्न प्रकारका परिचय र उमङ्गले भरिभराउ भई निर्वाचित प्रक्रियाले चुनिएर आएका छन् । कहीँ कतैका जनप्रतिनिधिहरू दोहोरिएका देखिए तर धेरैजसोमा भने नयाँ अनुहार, परिचय, विचार र उम्मिदका साथ आएका छन् । ती सबैमा केही नयाँ जोशका साथ काम गरौं भन्ने भावना झुसी भएको पाइन्छ ।
यो मुलुकका लागि खुशीको कुरो हुँदै हो । अबको पाँच वर्षमा हिजोका जनप्रतिनिधिहरूले बसाएर गएका विकासका जगमा टेकेर नयाँ जनप्रतिनिधिहरूले अझ नयाँ–नयाँ विधि-प्रविधिको विकास गर्दै उत्पादन वृद्धिका यावत् कार्यक्रमहरू गर्न सक्नुपर्छ । सोही सन्दर्भमा गाउँबाट नयाँ जनप्रतिनिधिहरूलाई केही सल्लाह दिने जमर्को गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा:

नेपालका दूर दराजका ग्रामीण भेगहरूमा अझै धामीझाँक्री र झारफुकको बोलवाला छ । पश्चिमतिर छाउपडी प्रथा पूरै हटिनसकेकाले धेरै चेलीबेटी र आमाहरू स्वास्थ्य सकसमा छन् । यस्तो परिस्थितिमा स्थानीय सरकारका रुपमा रहेका पालिकाहरूले ‘एक पालिका: एक अस्पताल’ को नीति व्यावहारिक रूपमै ल्याउन सके गज्जबको शुरुवात हुन्थ्यो । सबै प्रकारका रोगहरु पालिका स्तरमै भएका अस्पतालले निदान गर्न सके नागरिकले सुविधा पाउने थिए ।

अझ यसमा बोझिल बन्दै गएको स्वास्थ्य बिमा कार्यक्रमलाई भए÷गरेका बाधा अड्चनहरू फुकाएर देशैभरि बिमालाई सहजताका साथ लागू गर्न सकेमा नेपालले स्वास्थ्य क्षेत्रमा गतिलो फड्को मार्न सक्छ । राजधानीका काठमाडौँ र ललितपुरमा स्वास्थ्य बिमाको कार्यक्रम अझै शुरु नहुनु दुःखद कुरा हो । यो शुरुवातका लागि के–के अड्चनहरू रहेका छन्, तिनीहरू हटाउँदै कार्यक्रम शुरु गर्नुको विकल्प छैन ।

शिक्षा क्षेत्रमा:

अहिले नेपाल सरकारले देशैभरिका सामुदायिक विद्यालयहरूमध्ये करिब २ सय २० भन्दा बढी विद्यालयहरूलाई तिनीहरूको शैक्षिक, भौतिक र व्यवस्थापकीय स्थितिको मूल्याङ्कन गरेर ‘नमुना विद्यालय विकास कार्यक्रम’ गर्ने अख्तियारी दिएको छ, जसले गर्दा ती विद्यालयहरू विगतभन्दा हालको अवस्थामा शैक्षिक, भौतिक र व्यवस्थापकीय पक्षमा धेरै सुधारिएकाले बोर्डिङहरूमा अध्ययन गर्ने देशैभरिका करिब ४ लाख विद्यार्थीहरू सरकारी विद्यालयमा भर्ना हुन गए ।

शिक्षाले समाज र नयाँ पुस्ताको अनुहार फेर्ने काम गर्छ । भनिन्छ– ‘एक वर्षका लागि फाइदा लिने हो भने खेतीपाती गर्नुपर्छ । दशकपछि लाभ लिने हो भने रूख बिरुवाहरू रोप्नुपर्छ तर दशकौंपछि फाइदा लिने हो भने शिक्षामा लगानी गर्नुपर्छ ।’ अहिले यो कुरा गाउँ–गाउँका जनताले बुझेका छन् । त्यसैले वैदेशिक रोजगारीमा गएका पितामाताका सन्तानहरू उनीहरूका अभिभावकहरू पछि लागेर सदरमुकामका संस्थागत या सामुदायिक विद्यालयमा पढ्न भनेर आएका छन् । यो क्रम तराईभन्दा हिमाली र पहाडी क्षेत्रमा धेरै देखिन्छ । यसले शिक्षाप्रतिको जनचासो बढेको देखाउँछ ।

यही सिलसिलामा सबै प्रकारका सुगम र दुर्गममा अवस्थित पालिकाहरूले भए-गरेका सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री, गुणस्तरीय शिक्षा दिने स्थलका रुपमा विकास गर्नुपर्छ । स्थानीय पाठ्यक्रमका रुपमा आफ्नो पालिकाहरूमा के उत्पादन गरेर बिक्री गर्न सकिन्छ त्यो कुरालाई प्राथमिकताको पहिलो सूचीमा राख्नुपर्छ । यस मानेमा हिमाली, पहाडी र तराई मधेसका सवालमा आफ्नो माटो सुहाउँदो उत्पादनमा लगानी गरी अबका सामुदायिक विद्यालयहरूले ‘कमाउँदै पढ्दै’ अवधारणा लागू गर्न सके अब्बल हुने थियो । पठन संस्कृतिको विकासका लागि ‘एक वडा ः एक पुस्तकालय’ नीति पनि यो मानेमा कारगर देखिन्छ ।

सञ्चार क्षेत्रमा:

एक्काइसौं शताब्दीको अन्त्य र बाइसौं शताब्दीको शुरुवात भनेको सूचना क्रान्ति हो । अहिलेको समयमा जोसँग तथ्यपरक सूचनासङ्ग्रह छ ऊ शक्तिशाली र धनीमानी मानिसमा गनिन्छ । संसारकै रीत यही छ । शक्ति राष्ट्रहरूले गरेका विकास र निर्माणका क्षेत्रहरूलाई विहङ्गावलोकन गरेर हेर्दा यो कुरा स्पष्ट थाहा पाउन सकिन्छ । सञ्चारका उपकरणहरूले गाउँमा उत्पादन भएका नयाँ, अग्र्यानिक र ताजा कुरालाई ‘एप्स’ मार्फत सुलभरुपमा बिक्री गर्ने अवसर पाउनुप¥यो । यो कुराको नेतृत्व अहिले कसैले लिन सक्छ भने त्यो पालिका मातहतका वडा कार्यालयहरू नै हुन सक्छन् ।

जसरी वडा कार्यालयहरूले जनतालाई सेवा दिने मालपोत, कर, राजस्व र विभिन्न प्रकारका सिफारिसहरूका अलावा आफ्ना वडामा उत्पादन भएका कृषिका यावत् वस्तुहरूलाई वडामार्फत संकलन गरेर रेकर्ड राख्दै बिक्री गरी किसानहरूका हातहातमा पैसा दिन सकियो भने मात्र हाम्रो निर्वाहमुखी कृषि निर्यातमुखी कृषिमा अनुवाद हुन सक्छ । यस सन्दर्भमा अन्न, दालहन, तेलहन, तरकारी, फलफूल, माछा, कुखुरा, अण्डा, च्याउ, मौरीलगायतका उत्पादनहरूलाई पहिलो चरणमा सम्बोधन गर्ने कार्यक्रम बनाउनुपर्छ ।

केही समयअघि राष्ट्रिय आविष्कार केन्द्रका आविष्कारक महावीर पुनले साबिक धौलागिरि क्षेत्रबाट स्याटलाइट फोनका माध्यमबाट अनलाइन हाटबजार, अनलाइन शिक्षा र अनलाइन मेडिसिनका प्रयोगहरू गरेपछि ती सुविधाहरू क्रमशः देशैभरि फैलिए । राम्रो कुराको सिको सबैले गर्नुपर्ने र तिनीहरूलाई दिगोरुपमा समाजमा अपनाउनुपर्ने देखिन्छ ।

विशेषज्ञहरूको समूह:

अब हरेक पालिकाहरूमा विषय विशेषज्ञहरूको समूह राख्नुपर्छ । भाषा, साहित्य, कला, संस्कृति, कृषि, कुटिर उद्योग, उत्पादन र विपद्का क्षेत्रहरूमा चुस्तदुरुस्त विशेषज्ञहरूको टिम बनाएर जान सकियो भने मात्र गाउँमा रहेका जनतालाई गाउँमै रोक्न सकिन्छ, अन्यथा ती गाउँलेहरू अब क्रमशः अर्बान एरिया र शहरी क्षेत्रहरूमा बसाइँ सर्न बाध्य हुनेछन् । हालै सम्पन्न मुलुकको जनगणनाको तथ्याङ्क विश्लेषणले त्यही कुरा देखाएको छ ।

अहिले शहरी क्षेत्र र जिल्ला सदरमुकामहरूमा जनघनत्व क्रमशः वृद्धि हुँदै जाँदो छ भने दूर दराजका गाउँहरूमा जनसंख्या डरलाग्दो मात्रामा घटिरहेको छ ।जनसंख्याको यो घट्दो तथ्याङ्कले ती क्षेत्रहरूमा विकास र निर्माणका लागि चाहिने जनशक्तिहरूको अभाव क्रमशः बढिरहेको देखाउँछ । यो कुरालाई समेत हदृयङ्गम गरी अब स्थानीय सरकारका रुपमा क्रियाशील पालिकाहरूले दह्रो योजनाका खाकाहरू नल्याई नहुने भएको छ । हरेक क्षेत्रमा क्रियाशील विशेषज्ञहरू प्रत्येक पालिकाहरूमा राख्न नसकिएमा दुई वा तीन पालिकाहरू मिलेरसमेत ती विशेषज्ञहरू राख्न सकिन्छ । यस्ता उपायले आर्थिकरुपमा राहत मिल्ने देखिन्छ ।

भ्यु टावरका ठाउँमा कृषि-दिगो सडक:

अहिलेको समस्या भनेको स्रोतको नभएर सोचको हो । पहिलो कार्यकालमा करिब देशैभरि भ्यु टावरहरू ठड्याउने काम भए । तिनीहरूको निर्माणसँगसँगै आलोचनाको क्रमसमेत शुरु भयो । अहिले आएर ती कार्यहरूभन्दा बरू उत्पादनमुखी कृषि कार्यहरू र कृषि सडकहरू बनाउन पाएको भए हुन्थ्यो भन्ने खालका चिन्ता÷चासोहरू देखिन थाले । यो सुखद शुरुवात हो । जनताको आम्दानी र उत्पादन पटक्कै नबढ्ने भ्यु टावरहरू नेपालजस्तो पहाडै पहाडले घेरिएको देशमा आवश्यक नै छैनन् ।
तिनका स्थानमा कृषि उपजहरू बजारसम्म लैजानका लागि कृषि सडक र पालिका, प्रदेश र संघीय योजनाहरूलाई एकीकृत गरेर दिगा सडकहरू निर्माण गर्न सकियो भने मात्र देशको मुहार फेर्न सकिन्छ । नेपालमा देशैभरि हुने वनस्पति बाँस, खाद्यान्नमा मकै, आलु र जाडो गर्मी मौमसमा हुने विविध जातका गुलिया र अमिला फलफूलहरूलाई मात्र ब्रान्डिङ गर्न सकियो भने देशले ती वस्तुहरूमा क्रमशः बृहत् लगानी गर्ने अवसर जुट्ने थियो ।

रैथाने जातका जडीबुटी, खानेकुरा र पशुपक्षीको संरक्षण:

नेपालमा ठाउँ विशेषका विशेषता भएका विभिन्न जातका वस्तु र सेवाहरू रहेका छन् । प्युठानका मुला, टिकनी बोडे भक्तपुरका चिउरा, खोकनाको तेल, वीरगन्जको ताप्के, भोजपुरका खुकुरी, संखुवासभा चैनपुरका करुवा, दैलेखको नली, सर्लाही र सुनसरीका आँप, सिरहा, सप्तरी र धनुषाका माछा, धादिङका बोडी, जुम्लाको मार्सी धान, नवलपरासीको कालो मसिनो धान, चितवनको तोरी, मकवानपुरको मौरी, काभ्रे, रामेछापको आलु, दैलेखका नौमुठे गाई यी र यस्ता सयौं उत्पादनहरूलाई पालिका स्तरमा चिनाउनका लागि वैज्ञानिक तवरले सहकारी या समूहबाट खेती गर्ने वातावरण बनाउन सकियो भने पारम्परिकरुपमा गर्दै आइएका खेती प्रणालीमा वैज्ञानिक सुधार गरेर मेसिन प्रयोगबाट अत्यधिक उत्पादन लिन सकिन्छ ।

अहिलेको समयमा आफूले एउटा मात्र पेसा अपनाएर सोही पेसामा पारङ्गत हुने जमाना आयो । कफी, केरा, अनार, जुनार, सुन्तला, चिया, बाख्रा, कुखुरा, कालिज, बट्टाई र बङ्गुर÷सुँगुरमा आत्मनिर्भर हुन सकेमा मात्रै पनि अहिले देशले वार्षिक करिब कृषिजन्य उत्पादनहरू ४ खर्ब रुपियाँ बराबरका हिसाबले आयात गर्नुपरिरहेको अवस्था छ । यो अवस्थामा केही कमी हुने थियो । संघ, प्रदेश र स्थानीय तहमा बसेर योजना तर्जुमा गर्ने योजनाकारहरूले अघिल्लो वर्षको योजनालाई कपीपेस्ट मात्र नगरी कसरी आफ्नो पालिकाका नागरिकहरूको उत्पादन बढाउन सकिन्छ, त्यो विचार गरेर अघि जान सक्नुपर्छ । देश अहिले क्रमशः आयात प्रतिस्थापन गर्न नसक्दा झन्–झन् कमजोर हुँदै गएको स्थितिमा छ । यो स्थिति भोलिका दिनमा अझ विकराल नहोला भन्न सकिन्न ।

ग्रामीणमुखी पर्यटन:

संसार नै अहिले घुम्न निस्केको अवस्था छ । नेपालीहरू भर्खर–भर्खर घरबाहिर निस्कन थालेका छन् । यो परिवेशमा देशैभरि रहेका मठमन्दिर, ऐतिहासिक स्थलहरू, धार्मिक तथा सांस्कृतिक धरोहरहरूलाई निर्माण÷पुनर्निर्माण गर्न सकिएका खण्डमा हामीले सोचेभन्दा धेरै आन्तरिक र बाह्य पर्यटकहरू भित्र्याउन सक्छौं । पर्यटन उद्योगले हलोदेखि हाइड्रोसम्म उत्पादन गर्ने व्यापारीहरूलाई समेत एकैपटकमा आर्थिकरुपमा प्रभावमा पार्न सक्छ । यसले आर्थिक गतिविधिहरूलाई क्रमशः चलायमान गर्न सक्छ । यो नेपालको आर्थिक विकासको नयाँ मोडलसमेत हुन सक्ने देखिएको छ । अतः पर्यटनका लागि साहसी रुपमा चिनिएका जलमार्ग, स्थलमार्ग, आकाश मार्गका सबै उपायहरूलाई अवलम्बन गरी विविध प्रकारका साहसी खेलहरूको समेत विकास देशैभरि गर्न सकिन्छ ।

उपसंहार:

अब हिजोको जस्तो बन्द समाज र चुप लागेर बस्ने जनता छैनन् । विश्वका कुनै पनि कुनाबाट आएका चेतना, विद्रोह, आविष्कार र सभ्यताले मानिसलाई प्रभावमा नपारी रहन सक्दैनन् । अहिले नेपालीहरू विश्व परिभ्रमणमा रहेका छन् । विविध पेसा, व्यापार, विचार, काम र उद्देश्यले विश्वमा रहेका नेपालीहरूका विचार र कार्यशैलीलाई अबका स्थानीय सरकारका प्रतिनिधिका रुपमा रहेका पालिकाहरूले एड्रेस गर्न सक्नुपर्छ । यसो भयो भने नेपालको विकास र समृद्धिले ‘यु टर्न’ लिन सक्छ । गाउँबाट अहिले नयाँ जनप्रतिनिधिहरूलाई यस्तै–यस्तै सल्लाह दिन सकिन्छ । बाँकी काम उनीहरूको सोचको हो ।