खुला महिला भलिबल आजदेखि

0
Shares

काठमाडौं ।

वाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा वाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा न्यु डायमन्डसहित नेपाल एपीएफ क्लब, नेपाल प्रहरी क्लब र काठमाडौंको परोपकार आदर्श मावि गरी ४ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका

लागि प्रतिस्पर्धा गर्नेछन् । तेश्रो र चौथोले तेश्रो स्थानका लागि खेल्नेछन् । शीर्ष चार स्थान हात पर्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार प्राप्त गर्दा विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता आयोजना गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

आयोजकले ५०-५० प्रतिशत रकम व्यहोर्नेछन् । प्रतियोगिता आयोजनाको मुख्य उद्देश्यमध्ये एक न्यु डायमन्डको भलिबल कोर्ट निर्माण गर्न सहयोग जुटाउनु पनि हो । नगद पुरस्कार प्राप्त गर्ने टिमले २० प्रतिशत न्यु डायमन्डलाई उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ । टिकटको शुल्क नराखिए पनि दर्शकले कोर्ट निर्माणका लागि आफ्नो इच्छाअनुसार सहयोग गर्न पाउनेछन् । चार दिने प्रतियोगितका खेलहरू कीर्तिपुरस्थित कभर्डहलमा हुनेछ ।