हैजाको कारण प्रदूषित खानेपानी

0
Shares

काठमाडौं । 

उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताउनुभयो ।

महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उहाँले धारापानी, जार, ट्युबवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताउनुभयो । उहाँका अनुसार बागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उहाँले जानकारी दिनुभयो । पानी कसरी प्रदूषित भयो भनेर सबै ठाउँको पानीको नमुना संकलन गरिरहेको उहाँको भनाइ छ ।

यस्तै बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । नगरपालिकाले जार, ढुङ्गेधारा, बोरिङको पानी परीक्षण गरेको थियो । यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमुना परीक्षण गरिरहेको जनाएको छ ।

निर्देशक डा. दासले बल्खु र कोटेश्वरको पानीको सातवटा नमुना लिई महाशाखा र काठमाडौं उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताउनुभयो ।

यसैबीच स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको जानकारी दिनुभएको छ । उहाँका अनुसार तीमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् र चार जना उपचाररत रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा ती बिरामीको उपचार भइरहेको छ । सबैभन्दा पहिले असार ५ गते बागबजारका दुई जना युवतीमा हैजा पुष्टि भएको थियो ।