जग्गासम्बन्धी मुद्दामा नेपाल स्काउटको पक्षमा फैसला



काठमाडौं । 

नेपाल स्काउटले खड्का ल्यान्ड एन्ड डेभलेपमेन्ट प्रा.लि. विरुद्ध गरेको पुनरावेदन निवेदनमा उच्च अदालत पाटनले नेपाल स्काउटको पक्षमा फैसला गरेको छ ।
नेपाल स्काउटले २०७६ पौष २८ गते दायर गरेको मुद्दाउपर सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले जिल्ला अदालत, काठमाडौंको मिति २०७६ असार १८ गतेको पैmसला उल्ट्याउँदै नेपाल स्काउटको पक्षमा फैसला गरेको हो । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले फैसला उल्टी गरी न्याय निरूपण गरिपाउँ भनी निवेदन दिनुभएको थियो ।

नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा खड्का ल्यान्ड एन्ड डेभलेपमेन्ट प्रा.लि.ले १० वर्षका लागि भाडामा लिएकोमा सो कम्पनीले १५ वर्षको करार सम्झौता भनी दाबी गरेपछि नेपाल स्काउटले उक्त विषय किर्ते र सम्झौताविपरीत भएको भनी थियो ।

सो जग्गा १० वर्षे सम्झौता पूरा भएको र खाली गर्न भनेपछि खड्का ल्यान्ड एन्ड डेभलेपमेन्ट प्रा.लि.ले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडांैले १० वर्षे सम्झौतालाई १५ वर्ष भनी खड्का ल्यान्ड प्रा.लि.को पक्षमा फैसला गरेपछि नेपाल स्काउट उच्च अदालत गएको थियो । ‘यो जित सत्यको पक्षमा भएको जित हो’ भन्दै राजनीतिक शक्तिको दुरुपयोग गरी स्काउटको जग्गा हडप्ने खड्काको योजना विफल भएको नेपाल स्काउटका राष्ट्रिय संयोजक भण्डारीले बताउनुभयो ।

नेपाल स्काउटका पूर्व पदाधिकारी र पूर्व कर्मचारी प्रमुखले किर्ते गरी १० वर्षको सम्झौतालाई १५ वर्ष भएको निर्णय प्रमाणित गरिदिएका थिए । २०७५ सालमा सम्झौता सकिएपछि पनि, सोही कारणले खड्का ल्यान्ड एन्ड डेभलेपमेन्ट प्रा.लि.ले नेपाल स्काउटको जग्गामा हालीमुहाली गरिरहेको थियो । र लामो समयदेखि भाडावापतको ठुलो रकम नेपाल स्काउटलाई तिरेको पनि थिएन ।

खड्का ल्यान्ड एन्ड डेभलेपमेन्ट प्रा.लि. दिपक खड्काको कम्पनी हो । व्यवसायी नेता दीपक खड्काले निकै समयदेखि सत्ताको दुरुपयोग गरी नेपाल स्काउटको जग्गा अतिक्रमण गरी कब्जा गर्ने, अवैधनिक संरचनाहरू बनाउने, गुण्डा प्रयोग गरी कार्यालयमा आक्रमण गराउने र मालसामान चोरी गर्नेलगायतका कामहरू गर्दै आएको नेपाल स्काउटको आरोप छ ।

विभिन्न समयमा नेपाल स्काउटका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूले नेता खड्काको कम्पनीसँग मिलेमतो गरी नेपाल स्काउटको अहित हुनेगरी कम्पनीको फाइदामा काम गरेका कारणले खड्काले नेपाल स्काउटलाई सताउँदै आएको नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले बताउनुभयो । हालसम्म भाडाबापतको पनि करोडौं रकम सो कम्पनीले नेपाल स्काउटलाई बुझाएको छैन ।

प्रतिक्रिया दिनुहोस्