सर्वाधिक पुरानो ग्रान्डस्लाम विम्बलडन



काठमाडाैं । 

सोमबारदेखि लन्डनमा १ सय ३५औं संस्करणको विम्बल्डन टेनिस प्रतियोगिता शुरू हुँदैछ । विम्बलडन विश्वकै सबैभन्दा पुरानो टेनिस प्रतियोगिता हो । यसको इतिहास १ सय ४५ वर्ष पुरानो छ । सन् १८७७ मा अल इंग्ल्यान्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलोपटक खेलिएको यस प्रतियोगिताको यो १ सय ३५औं संस्करण सोमबारदेखि लन्डनमा हुन लागेको हो । साधारणतया विम्बलडन भन्ना साथ हामी टेनिसलाई सम्झिने गर्छाै । तर, यो नाम दक्षिण पूर्वी लन्डनको एउटा जिल्ला हो । प्रतियोगिता यही स्थानमा हुने गरेकोले ठाउँको नामबाट नै प्रतियोगिताको नामकरण गरिएको हो ।

विम्बल्डन विश्व टेनिसमा रहेको चार ग्रान्डस्लाममध्येको एउटा हो । सन् १९८८ मा अस्ट्रेलियन ओपनले हार्ड कोर्ट रोजेपछि अहिले विम्बलडन घाँसे कोर्टमा खेलिने एक मात्र ग्रान्डस्लाम टेनिस प्रतियोगिता बनेको छ । वार्षिक रूपमा जूनको अन्तिम साताबाट शुरू भएर जुलाइसम्म दुई साता चल्ने यस प्रतियोगितामा प्रतिस्पर्धीहरूले तोकिएको कपडा मात्र लगाउन पाउने नियम रहेको छ । टेलिभिजनमार्फत् प्रसारण हुने यो पहिलो ग्रान्डस्लाम प्रतियोगितासमेत हो । सन् १९३७ मा यो प्रतियोगितालाई पहिलोपटक बीबीसीले टेलिभिजनमार्फत् प्रसारण गरेको थियो ।

वर्षभरि हुने चारवटै ग्रान्डस्लामको शुरुवातको मिति खोतल्ने हो भने कुनैको पनि इतिहास एक शताब्दीभन्दा कम छैन । तर, ती चारमध्ये पनि विम्बल्डन सबैभन्दा लामो इतिहास बोकेको ग्रान्डस्लाम हो । सदा झैं यसपटक पनि प्रतियोगिताको १ सय ३५औं संस्करण जुन २७ देखि जुलाइ १० सम्म चल्नेछ । करिब डेढ शताब्दीदेखि निरन्तर चल्दै आए पनि तीनपटक प्रतियोगिता हुन सकेन । पछिल्लोपटक सन् २०२० मा कोरोनाका कारण इतिहासमा तेस्रोपटक यो प्रतियोगिता रद्द गरिएको विम्बलडन त्यसअघि सन् १९१५ देखि १९१८ सम्म पहिलो विश्वयुद्ध र १९४० देखि १९४५ सम्म दोस्रो विश्वयुद्धका कारण दुईपटक रद्द गरिएका थिए ।

यसपटक प्रतियोगिताको कुल नगद पुरस्कार राशि ४ करोड ३ लाख ५० हजार ग्रेट ब्रिटेन पाउन्ड राखिएको छ । यो रकम गत संस्करणको भन्दा १५.२३ प्रतिशतले बढी हो । त्यस्तै, पुरुष र महिला एकलतर्फ पनि पुरस्कार राशि १७.६५ प्रतिशतले वृद्धि गरिएको छ । यसपटक पुरुष र महिला एकलतर्फका विजेताले २० लाख ग्रेट ब्रिटेन पाउन्ड प्राप्त गर्नेछन् ।सानो होस् वा ठूलो, कुनै पनि स्तरको खेलमा प्रायोजनलाई मेरुदण्डको रूपमा लिइन्छ । तर, सुन्दा अचम्म लाग्न सक्छ, विम्बल्डनमा प्रायोजन पूर्ण रूपमा निषेधित रहँदै आएको छ । यो खेलाडीका साथ साथ बल ब्याइज र गल्र्सका कारण पनि रोचक प्रतियोगिता बनेको छ ।

खेलका क्रममा बल उपलब्ध गराउने बल ब्वाइज र गल्र्सहरू लन्डनको स्थानीय विद्यालयबाट ल्याउने गरिन्छ । जसका लागि विद्यार्थीले शारीरिक तथा लिखित परीक्षा दिएपछि विद्यालयका प्रधानाध्यापकले छनोट गर्दछ । औषतमा १५ वर्षका विद्यार्थीहरू बल ब्वाइज र गल्र्स हुने गरेको छ ।

विम्बल्डन विजेताको कुरा गर्दा पुरुष सिंगल्सतर्फ सर्वाधिक उपाधि जित्नेमा रोजर फेडेरर शीर्ष स्थानमा छन् । उनले आठपटक उपाधि जितिसकेका छन् । त्यस्तै, पिट साम्प्रासले सातपटक र नोभाक जोकोभिचले ६ पटक उपाधि उचालेका छन् । त्यसै गरी महिला एकलतर्फ मार्टिना नभ्रातिलोभाले सर्वाधिक ९ पटक उपाधि जितेकी छन् । १२ पटक विम्बल्डनको फाइनल खेलेकी उनले नौपटक उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । त्यसै गरी स्टेफी ग्राफले र सेरेना विलियम्सले समान सातपटक जित्दा भेनस विलियम्स पाँच पटककी च्याम्पियन हुन ।

प्रतिक्रिया दिनुहोस्