शुभकामना गोल्डकप क्यामरुनी टोलीलाई



पोखरा  । 

नेपाल आइस छैटौं शुभकामना अन्तर्राष्ट्रिय गोल्डकपको उपाधी क्यामरुनको एभिनियर क्लबले उचालेको छ । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपियाँसहित उपाधी उचालेको हो । हेम्जाले ३ लाख रुपियाँ प्राप्त ग-यो ।

एभिनियरले खेलको शुरूआतमै गोल गरे पनि त्यो अफसाइड रह्यो । सेन्टरबाट चलेको बललाई विल्लेले नियन्त्रणमा लिँदै अघि बढाउँदै साङलाई दिएको पासमा उत्कृष्ट गोल गरे पनि अफसाइड रह्यो । एभिनियरले खेलको छैटौं मिनेटमा नै गोल गर्दै अग्रता लियो । हेम्जाका डिफेन्डर सुमन अर्यालले क्लियर गर्नेक्रममा एभिनियरले कर्नर प्राप्त गरेको थियो । विल्लेले प्रहार गरेको कर्नरमा आनिसेले हेडरमार्फत् गोल गरे ।

निकै दबाबमा परेको हेम्जाले खेलको ३५ औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । एभिनियरका डिफेन्डर र गोलरक्षक कोभास्सि झुक्किरहँदा सुशिल राईले उत्कृष्ट गोल गरे । खेलको पहिलो हाफ बराबरीमै रोकिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा हेम्जाको गोलपोस्ट निकै व्यस्त रह्यो ।रक्षात्मक खेल खेलेको हेम्जाले दोस्रो हाफमा गोल गर्न नदिँदा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको अतिरिक्त ३० मिनेटमा एभिनियरले २ गोल गर्दै ३–१ को स्थिति बनाएपछि उपाधी चुमेको हो । खेलको ९८ औं मिनेटमा साङले र १०६ औं मिनेटमा विल्लेले गोलगर्दै जित निश्चित गराएका थिए ।

दिप कार्की सर्वोत्कृष्ट खेलाडी

हेम्जा युनाइटेडका गोलरक्षक दिप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ५० हजार रुपियाँको साथमा ट्रफी प्राप्त गरे । यस्तै हेम्जा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए भने सुशिल राई उत्कृष्ट फरवार्ड घोषित भए । एभिनियरका गोलरक्षक कोभास्सि उत्कृष्ट गोलरक्षक, एभिनियरकै नेल्सन उत्कृष्ट मिडफिल्डर र आसिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उदीयमान खेलाडी हेम्जाका मनिश थापा घोषित भए । उनीहरू सबैले समान २०-२० हजार रुपियाँको साथमा ट्रफी प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम कालिका फुटबल क्लब घोषित हुँदै २५ हजार प्राप्त ग¥यो ।
सर्वाधिक गोलकर्ता भने एभिनियरका विल्ले र हेम्जाका कमल थापा मगर रहे, उनीहरूले समान ३÷३ गोल गरे । उनीहरूले २५ हजार रुपियाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्