सांसद्को अनुपस्थितिले प्रतिनिधि सभाको बैठक स्थगित

0
Shares

काठमाडौं ।

संसद्मा गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको आइतबारको बैठक स्थगित भयो ।जनप्रतिनिधिले संसद् बैठकलाई बेवास्ता गरे, व्यवस्थापिकालाई उचित सम्मान दिएनन् भनेर समय–समयमा जनआवाज उठ्ने गरे पनि उनीहरूको व्यवहारमा परिवर्तन नआएका कारण शुरू हुन लागेको बैठक स्थगित भयो ।

प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ निर्णयार्थ पेस गर्न खोजेको बेला नियमापत्ति भएको थियो । सांसद झपट रावलले गणपूरक संख्या नपुगेकाले विधेयक निर्णयार्थ पेस गर्न नहुने भन्दै नियमापत्ति गर्नुभएको थियो ।

त्यसपछि सभामुख सापकोटाले सांसदको संख्या गणना गर्न लगाउनुभयो । गणना गर्दा ६३ सांसद मात्रै उपस्थित भएको पाइयो ।नेपालको संविधान, २०७२ को धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाई सांसद उपस्थित हुनुपर्छ । यस अनुसार, ६९ जना गणपूरक संख्या हुनआउँछ ।प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपछि सभामुख सापकोटाले बैठक स्थगन भएको घोषणा गर्नुभएको थियो ।

सभामुख सापकोटाले घोषणा गर्नुभयो – ‘नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाई गणपूरक संख्या यकिन गर्दा हाल यो प्रस्ताव निर्णयार्थ पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरूको संख्या ६३ भएकाले उक्त गणपूरक संख्या नपुग भएको देखिएकाले यो बैठक आधा घण्टाका लागि स्थगित हुन्छ’
करिब आधा घण्टाको स्थगनपछि सांसद्हरू थपिएका कारण बैठक पुनः बसेको थियो ।