अप्टिकल फाइबरमार्फत दुर्गम गाउँमा टेलिकमको सेवा, स्थानीयलाई टेलिफोनको सहज



बागलुङ । नेपाल टेलिकमले तमानखोला गाउँपालिका–४ लाममेलामा पहिलो पटक मोवाईल सेवा पुराएको छ । ग्रामीण र दूरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने लक्ष्य अनुरुरूप मोवाइल सेवा विस्तार गरि सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।

भौगोलिक कठिनाइका कारण रेडियो लिङ्कमार्फत सेवा उपलब्ध गराउन प्राविधिक हिसाबले सम्भव नभएपछि तमानमा रहेको बिटियस टावरबाट अप्टिकल फाइबरमार्फत लिङ्क गरि सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका वरिष्ठ ईन्जिनियर तथा कार्यालय प्रमुख केशव शर्माले बताए ।

बागलुङ र म्याग्दी जिल्लाको संगम एवम् पर्यटकीयस्थल सोलेडाँडासँगै लाममेला गाउँका झण्डै ३ सय घरधुरीलाई लक्षित गरि सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख शर्माले बताए ।

वरिष्ठ ईन्जिनियर शर्माले भनें, –‘अहिले सम्म उक्त गाउँमा कुनै पनि मोवाईल सेवा थिएन हामीले दुर्गम र विकट गाउँका नागरिकलाई सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले अस्थायी टावर निर्माण गरि अप्टिकल फाइबरमार्फत सेवा प्रवाह गरेका छौं, टावर नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो, अब मोवाईल सेवा सञ्चालनमा आएपछि सहजता भएको छ ।’

भौगोलिक विकटतासँगै वर्खायाम सुरु भईसकेकोले त्यहाँ सामाग्री ढुवानी र प्राविधिकलाई पुग्न समस्या भएपनि टेलिकमले त्यहाँका जनप्रतिनिधी र स्थानीयको सहकार्यमा सेवा पुराउन सफल भएको शर्माको भनाइ छ ।

निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको ईन्टरनेट सहित गुणस्तरीय आवाज उपलब्ध हुने फोरजी मोवाइल सेवा पुराउने गृहकार्यमा रहेको टेलिकमले बताएको छ ।

समुद्री सतहदेखि झण्डै २ हजार ६ सय मिटरको उचाइमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि वडासहित गाउँपालिकामा हुने हरेक कामकाज र स्थानियको दैनिकीलाई मोवाइल सेवाले थप सजिलो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्