उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन गर्न माग



काठमाडौं । सांसद अमृता थापाले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन गरी संघीय संसद्लाई चाँडो पूर्णता दिन माग गरिन् ।

उनले नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको महिला अधिकार कार्यान्वयन हुन नसक्दा नेतृत्व निर्माणमा गम्भीर असर पुगेको बताइन् । प्रतिनिधि सभाको उपसभामुख पद वि.सं. २०७६ माघ ६ गतेदेखि रिक्त रहेको छ भने २०७८ फागुन २० देखि राष्ट्रिय सभा उपाध्यक्षको पद रिक्त छ ।

सांसद कलिला खातुनले पेट्रोल र डिजेटको मूल्य घटाएकामा सरकारलाई धन्यवाद दिँदै काठमाडौँका कतिपय स्थानमा हैजा फैलिएको भनी आएको विषयमा नियन्त्रणका लागि पहल गर्न आग्रह गरिन् ।

सांसद कुमारी मेचेले आफ्नो क्षेत्रमा बजेट माग्दा पनि नपाएको गुनासो गर्दै झापाको चाराली खानेपानीको व्यवस्थापन, बालबालिकाले विद्यालयमा पुस्तक नपाएकोलगायत विषयमा सरकारले ध्यान दिनुपर्ने खाँचो औंल्याइन् ।

सांसद आशाकुमारी विकले कात्तिक ३० गते आएको वर्षाले बझाङका एक हजार १०० परिवार विस्थापित भएका र पीडितले अझै पूर्णरुपमा

राहत नपाएको भन्दै मनसुन सुरु भएकाले विपद् व्यवस्थापनका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद कृष्णगोपाल श्रेष्ठले २०७९ जेठ १४ गते अर्थ मन्त्रालयमा बजेट निर्माणको समयमा अनाधिकृत व्यक्ति सहभागी भएको फुटेज सार्वजनिक गर्न माग गरे ।

सांसद कृष्णबहादुर राईले काठमाडौँ क्षेत्र नं ३ स्थित गोकर्णेश्वर क्षेत्रमा मेलम्चीको खानेपानी पाइपलाइन विस्तार गर्न ढिलाइ भएको साथै जोरपाटी, नयाँपाटी, सुन्दरीजल, गोकर्ण, बौद्धलगायत क्षेत्रमा पाइपलाइन विस्तार नभएकाले चाँडो सम्पन्न गर्न आग्रह गरे ।

एनले गुहेश्वरीदेखि गोकर्णेश्वरसम्मको वागमती करिडोरको बाटो चाँडो कालोपत्र गर्न सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराए ।

सांसद कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि भइरहेको पूर्वतयारीबारे सरकारले गरिरहेको तयारीको संसदमा जानकारी गराउन र अनुगमनमा सामेल गराउन माग गरे । उनले नारायणगढ–मुग्लिन सडकखण्डको दीर्घकालीन समाधान खोज्न आग्रह गरे ।

सांसद खगराज अधिकारीले प्रधानन्यायाधीशको महाअभियोगको प्रस्ताव आजै समितिमा लैजान आग्रह गरे । उनले पोखराको हेम्जालगायतका स्थानमा भारी वर्षापछि आएको बाढीबाट पीडित जनताको उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरेका छन् ।

सांसद खेमप्रसाद लोहोनीले पेट्रोलियम पदार्थको अस्वभाविक मूल्यवृद्धिले सम्पूर्ण उपभोग्य वस्तुको मूल्य बढेकाले जनतालाई समस्या परेको भन्दै यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद गणेशसिंह ठगुन्नाले दैनिक उपभोग्य वस्तुको महँगीले सर्वसाधारणलाई मर्का परेको भन्दै उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन् ।

सांसद गङ्गा चौधरीले बलात्कारको मुद्दालाई कमजोर बनाउन जिम्मेवार निकायबाट भएको कदमको भत्र्सना गर्दै त्यस कार्यमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

सांसद घनश्याम खतिवडाले अत्यधिक वर्षाले देशभर बाढीपहिरो, डुबानका घटना बढिरहेकाले त्यसको मारमा जनता परेका र महँगी बढेको तथा शेयरबजार घटिरहेको यस विषयमा सरकारको व्यवस्थापकीय तयारी के छ भनी प्रश्न गरे ।

सांसद जिवछिरिङ लामाले शून्य समयमा उठेका सवालको कार्यान्वयन हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद झपटबहादुर रावलले करिब ३० वर्षअघि निर्माण गरिएको सुदूरपश्चिमको कैलालीस्थित सिङ्गल टावर केवलस्टेट मोटर पुलको मर्मतसम्भार गरी रात्रिकालीन बत्ती व्यवस्थापन गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्