युवा पुस्तालाई दुर्व्यसनबाट बचाउने हामी सबैको दायित्व हो: गृहमन्त्री खाण



काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुव्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकरको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री खाणले लागु पदार्थको दुव्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताउनुभयो ।

लागु पदार्थको दव्यसनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको उहाँले बताउनु भयो । गृहमन्त्री खाणले युवा पुस्तालाई दुव्यसनीबाट बचाउनु सरकार र समाज सबैको दायित्व भएको धारणा राख्नुभयो ।

युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउन, पाठ्यपस्तकमा लागु औषध दुर्व्यसनका असरबारेका विषयबस्तु समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउन, र दुव्यसनीमा फसेका युवाहरुलाई सुधार्न विषेश अभियान थाल्नुपर्ने आवश्यकता गृहमन्त्री खाणले बताउनुभयो । लागुऔषध दुव्यसनीलाई कम गर्न सरकार संवेदनशील भएर काम गरिरहेको पनि उहाँको भनाइ थियो ।

‘नेपालमा लागूपदार्थ चुनौतीको रुपमा आइरहेको छ । लागूपदार्थ दव्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ । बढी असर युवा पुस्तामा परिरहेको छ । हाम्रो युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिवद्ध छ । आउने दिनमा सरकारले अझै बढी ध्यान दिन, जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्नेछ ।’

उहाँले अहिले लागु पदार्थबारेको अपराधमा दोषी देखिएका ६ हजार बढी बन्दी कारगारमा रहेको र मुलुकभर हुने आपराधिक गतिविधिमध्य ८ प्रतिशतभन्दा बढी लागु पदार्थसँग सम्बन्धित रहेको बताउनु भयो ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले लागु औषधमुक्त परिवार, समाज र राष्ट्र निर्माण गर्न सबै नागरिकहरू आफ्नो तर्फबाट सचेत हुन आवश्यक रहेको बताउनु भयो ।कार्यक्रममा लागु औषधविरुद्ध कार्य गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो ।कार्यक्रम अघि राष्ट्रिय सभा गृहबाट सुरु भएर भद्रकाली, सुन्धारा, न्यूरोड, रत्नपार्क बागबजार हुँदै पुनः राष्ट्रिय सभासम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्