सोरुका किसानलाई मौरी र बाकस वितरण


मुगु ।

हिमाली जिल्ला मुगुका किसानलाई मौरी र मौरी पाल्न मिल्ने बाकस वितरण गरिएको छ । सोरु गाउँपालिका– १, २ र ४ का तीन जनालाई व्यावसायिकरूपमा मौरी पाल्न मिल्नेगरी मौरी र बाकस वितरण गरिएको हो ।

टीडी एन्ड बीएम जेट जर्मनको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालिकोटको कार्यान्वयन, मालिका सामुदायिक विकास केन्द्र मुगुको सहजीकरणमा सञ्चालित हिमाली ग्रामीण क्षेत्रमा दिगो जीविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजनाअन्तर्गत उनीहरूलाई मौरी वितरण गरेको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक निरू शाहीले बताउनुभयो ।

उहाँका अनुसार कृषि समूहअन्तर्गत सोरु गाउँपालिका–१ का मनदेवी शाही, वडा नम्बर २ बाँचेका नाथ योगी र वडा नम्बर ४ का साउनी बुढालाई मौरीसहित बाकस वितरण गरिएको हो । यस्तै, मौरी संरक्षणमा आवश्यक पञ्जा, हेल्मेट, चक्कु पनि वितरण गरिएको छ ।