विद्यालयमा अध्यक्ष आउँदा रक्सी पार्टी



हेटौंडा । 

पश्चिम मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९, खैराङको अठारेस्थित कालिका माध्यमिक विद्यालयले विद्यालयमा वडाध्यक्ष आउँदा रक्सी खुवाएको बिल फेला परेपछि लेखा समितिका संयोजकले राजीनामा दिएका छन् । बिलको ‘भुक्तानी हुँदैन’ भनेर अड्डी कस्दा अल्पमतमा परेर संयोजक आयुश खड्काले राजीनामा दिनुभएको हो ।

‘म आफैं माविको शिक्षक–अभिभावक संघको लेखा समिति संयोजक हुनुका नाताले मात्र नभई एक पूर्व विद्यार्थीका नाताले पनि यस विषयमा मैले भन्न कसैलाई छुटाइनँ । पालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक पार्टीलाई पनि भनें । तर, खासै चासो कतै देखिएन,’ उहाँले भन्नुभयो–‘विद्यालयको पैसामा खुलेआम रक्सी र चुरोट खाने, विभिन्न शीर्षकमा अनियमितता हुनु कदापि मान्य छैन । त्यसैले लेखा समिति संयोजकबाट राजीनामा गरेको छु ।’

खड्काले विद्यालयको लेखा समितिमा पेस भएको ९ पानाको कापीमा लेखिएको विवरण र विद्यालयजस्तो पवित्रस्थलमा वडाअध्यक्ष आउँदा रक्सी, चुरोट, मासु पार्टी भएको कुराको विवरण राख्नुभएको छ । उहाँले स्थानीय किराना पसलमा विद्यालयका उधारो खातामा रक्सी, चुरोट खरिद गरिएको पाइएको विवरण सार्वजनिक गर्नुभएको छ ।

पूर्वप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत व्यक्तिले विद्यालयको रकम पेश्की लगेको र हालसम्म फिर्ता नगरेको पनि उहाँको आरोप छ । उहाँले बेथिति हटाउन माग गर्दा सुधार हुने छाँट नदेखिएकाले राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

विद्यालयका प्रधानाध्यापक दीपेन्द्र झाले भने कतिपय पेश्की फछ्र्याैट भएको र केही हुने क्रममा रहेको बताउनुभयो । उहाँले विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि समुदाय तहमा एकतावद्ध भएर काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्