उम्मेदवारको खर्च विवरण पठाउन निर्देशन



काठमाडौं  । 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारमा गरेको आफ्नो खर्चको विवरण निर्वाचन आयोग ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र स्थानीय तह निर्वाचन नियमावली, २०७३ बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार आयोगले कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण बुझाए नबुझाएको यकिन गरी पठाउन निर्वाचन कार्यालयहरूलाई निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टाछुट्टै तयार गरी आवश्यक कारबाहीको लागि सिफारिससहित आयोगमा विवरण पठाउन सबै निर्वाचन कार्यालयहरूलाई निर्देशन दिइएको छ । गत वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्