श्रीखण्डपुरमा साथी मार्ट, स्थानीय उत्पादनमा प्राथमिकता



काभ्रे।

स्थानीय उत्पादन प्रर्वद्धन गर्ने उदेश्यले देशभर सञ्जाल फैलाउँदै गएको साथी मार्टको १ सय ५ औ शाखा धुलिखेल नगरपालिका वडा नम्वर ५ श्रीखण्डपुर चोकमा शुभारम्भ भएको छ । मार्टको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको छ ।

 

धुलिखेल नगरपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन गर्न सिपमुलक तालिम साथै कोसेली घरको निर्माण, स्थानीय उत्पादनको बजारीकरण लगायतका कार्यक्रमहरु गरिरहेको छ । ‘स्थानीय प्रर्वद्धन गर्ने उदेश्यले शुरु भएको मार्टले नागरिकहरुलाई थप समृद्ध बनाउने छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘यो केवल सामान किन्ने र विक्री गर्ने मात्रै नभई स्थानीय उत्पादनमा बढावा दिने र मुलुकलाई आत्मनिर्भर केन्द्रित गर्ने अभियानमा थप सहज हुनेछ ।’

श्रीखण्डपुर पुरानो बजारका रुपमा चिनिदै आएकोमा पछिल्लो समय फरक पहिचानका लागि लम्किरहेको छ । नगर प्रमुख ब्याञ्जुले मुद्रण प्रेस समेत निर्माण हुँदै गरेको श्रीखण्डपुरमा स्थानीयहरुलाई रोजगार प्रर्वद्धन र उत्पादनमा जोड दिने बताउनु भयो ।

साथी मार्टका कार्यकारी निर्देशक सागर पोखरेलले देशभर एक हजार वटा मार्ट खोल्ने योजनामा रहेको बताउनु भयो । मार्ट नपुगेको जिरी तथा अन्य क्षेत्रमा समेत साथी मार्ट शुभारम्भ गरेको उहाँले बताउनु भयो । यसले स्थानीय उत्पादनमा थप हौसला मिलेको छ भने रोजगार समेत सिर्जना भएको उहाँले बताउनु भयो ।


श्रीखण्डपुरमा गुणस्तरीय सामान होलसेल मुल्यमै उपलब्ध गराउने गरी शुभारम्भ भएको साथी मार्टको शाखा पहिलो हो । स्थानीय राकेश श्रेष्ठ र बलराम श्रेष्ठले ६० लाख रुपैया लगानी गरी शुभारम्भ गरेको मार्टले अनलाईन मार्फत पनि ग्राहकहरुलाई सेवा दिनेछ । ‘होम डेलिभरीको समेत सुविधा उपलब्ध गराएका छौं’–प्रोपाईटर राकेश श्रेष्ठले भन्नुभयो–‘उपभोक्ताहरुको सन्तुष्टीलाई विशेष ध्यान दिएका छौं । कम मुल्यमा गुणस्तरीय सामान एउटै छानामुनी उपलब्ध गराउने गरी मार्ट स्थापना गरेका हौ ।’

मार्टमा चारजनाले रोजगार प्राप्त गरेका छन् । खाद्यान्नका सबै प्रकार मार्टमा उपलब्ध छन् भने दैनिक प्रयोगमा आउने सामानहरु, बालबालिका, सुत्केरी तथा गर्भवती महिलाहरु, जेष्ठ नागरिकहरुका लागि आवश्यक पर्ने सामानहरु पनि उपलब्ध छन् । त्यस्तै मदिराजन्य सामानका साथै कस्मेटिक सामानहरु पनि उपलब्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस्