परियोजनाले सरकार र नागरिकबीच सम्बन्ध सेतुको काम गर्यो



भक्तपुर।

भक्तपुरमा नागरिक समाज ,पारस्पारिक जवाफदेहिता परियोजनाले सरकार र नागरिकबीच सम्बन्ध सेतुको काम गरेको बताईएको छ ।शुक्रबार यहाँ आयोजित परियोजना समापन कार्यक्रममा सहभागी सरोकारवालाहरुले ५ वर्ष देखि संचालित परियोजनाले समुदाय र जिल्ला स्तरमा सकारात्मक उपलब्धी हासिल गरेको बताएका छन् ।

मुलभुत सवालहरु स्वास्थ्य, शिक्षा, कृषि र विपदका क्षेत्रहरुमा उल्लेख्य परिवर्तन ल्याएको उनीहरुको भनाइ छ । परियोजनाले बस्ती तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि पैरवी र वकालत गर्दै स्थानीय तहमा नीति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोग, नागरिक समाज संघ संस्थाहरुलाई गरेको परिचालन र नागरिकहरुका सवाल समाधान गर्नमा सहयोग पुगेको सरोकारवालाले बताएका हुन् ।

नागरिक समाज सञ्जालका संयोजक एंव भक्तपुर बारका अध्यक्ष रविन्द्र प्रधानले परियोजना सकिए पनि नागरिकका गुनासो सम्बोधन गर्न संजाल निरन्तर सकृय रहने बताउनुभयो ।

गैसस महासंघ भक्तपुरका अध्यक्ष नारायण प्रसाद न्यौपानेले आगामी दिनमा पनि परियोजना प्रत्यक्ष या अप्रत्यक्ष रुपमा परियोजना जोडिईरहोस् भन्नुभयो ।

सुर्यबिनायक नगरपालिकाका निर्वतमान उपमेयर जुना बस्नेतले स्थानीय सवाललाई पहिचान दिलाउन र समस्या समाधानमा पहल गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका निबर्तमान अध्यक्ष तथा सल्लाहकार पुष्करराज बुढाथोकीले २०६३÷६३ पछि सुस्ताएर बसेको नागरिक समाजलाई सकृय बनाउन परियोजनाले सहयोग गरेको भन्दै परियोजना नरहे पनि नागरिक समाज सकृय रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष केशब बाँनियाँ, रेडक्रस सोसाईटीका धर्मराज कार्की ,निर्वतमान जनप्रतिनिधि सुजेन्द्र मुनकंर्मी, स्थानीय सभा नगरकोटका संयोजक श्रीराम लामिछाने, स्थानीय सभा बालकोटका संयोजक चन्द्रकृष्ण श्रेष्ठ, याभ नेपालका सचिव श्रीकृष्ण थापा, छनोट गरिएको बस्तिको अगुवा सुनिता विश्वकर्मा लगायत नागरिक अभियन्ता जनप्रतिनिधिहरुले स्थानीय स्तरमा र जिल्लास्तरमा संचालन गरिएको क्रियाकलाप तथा अभियानबाट भएको परिवर्तनका बारेमा आ–आफनो अनुभव सुनाउनुभएको थियो।

युएसएआइडी फएचआइ ३६० को सहयोगमा मानव अधिकार संचार प्रतिष्ठान नेपाल (इह्रिकन) ले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सुर्यविनायक नगरपालिकामा सन् २०१७ देखि २०२२ सम्म सञ्चालन गरेको परियोजना संचालन गरेको कार्यक्रम अधिकृत दिपेश बिसुङ्खेले जानकारी दिनुभयो ।

कार्यक्रममा इह्रिकनका कार्यकारी निर्देशक पंकजराज देवकोटाले परियोजना संचालनको ५ वर्षमा भएको मुख्य उपलब्धीका बारेमा प्रस्तुतीकरण गर्नुभयो । उहाँले नागरिक नेतृत्व, क्षमता अभिबृद्धि, सुशासन, सामाजिक जवाफदेहिताका औजार, सूचनाको हक, स्थानिय तहमा नीति निमार्ण लगायतको काम गरेको बताउनुभयो ।

कार्यक्रम अधिकृत मदन अधिकारीले परियोजनाले विशेष गरि नागरिक नेतृत्व, क्षमता अभिबृद्धि, सुशासन, सामाजिक जवाफदेहिताका औजार, सूचनाको हक, स्थानिय तहमा निति निमार्ण लगायतको काम गरेको बताउनुभयो ।

इह्रिकनका अध्यक्ष मीना शर्माले परियोजनाको समय अवधि सकिए पनि संस्था सदैव रहिरहने भएकोले नागरिक समाज संस्थाहरुसँग समन्वय सहकार्य गर्दै नागरिकका सवालहरुमा सदैव हातेमालो गरिरहने जानकारी गराउनुभयो । शर्माले परियोजना सफल बनाउन साथ सहयोग गर्ने नागरिक समाजका संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै कदर पत्र समेत हस्तान्तरण गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्