बेसीशहर नगरपालिकाको बजेट ७५ करोड ५३ लाख



लमजुङ ।

लमजुङको बेसीशहर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि निती तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शुक्रबार बेसीशहरको जिल्ला समन्वय समितिको सभा हलमा भएको नगर सभाबाट आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्यालको अध्यक्षता एवं गण्डकी प्रदेश पूर्व मुख्या मन्त्रीको प्रमुख आतिथ्यतामा भएको नगर सभामा उपप्रमुख पद्मा गुरुङले निती तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि अनुमानित आय, व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

उपप्रमुख गुरुङले आगामी आर्थिक वर्षका लागि ७५ करोड ५३ लाख तीन हजार रुपैया बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले विनियोजन गरेको बजेट अनुसार कुल बजेटको ४३ दशमलव ०३ प्रतिशत बजेट सामाजिक विकासमा खर्च गर्ने प्रस्ताव गरिएको छ । कुल बजेट मध्ये ३४ करोड पाँचलाख रुपैया सामाजिक विकासमा खर्च गर्नेगरी प्रस्ताव गरिएको हो ।

त्यसैगरी नगरपालिकाले कुल बजेट मध्ये भौतिक पुर्वाधार विकास तर्फ १८ करोड एकलाख तीनहजार, सँस्थागत विकास र सुशासनका लागि १३ करोड ८३ लाख विनियोजन गरेको छ भने ६ करोड ८० लाख रुपैया आर्थिक विकास तर्फ प्रस्ताव गरिएको छ ।

त्यसैगरी नगरपालिकाले वातावरण तथा विपद व्यवस्थापनका लागि दुई करोड ८४ लाख रुपैया नगर सभामा प्रस्ताव भएको छ ।

नगरपालिकाले विनियोजन गरेको बजेट अनुसार चालु तर्फ १७ दशमलव २१ प्रतिशत अर्थात १३ करोड, पुजिगत तर्फ २५ करोड ९४ लाख तीन हजार अर्गात ३४ दशमलव ३४ प्रतिशतर सशर्त तर्फ २९ करोड नौ लाख अर्थात ३८ दशमलव ५१ प्रतिशत विनियोजन गरेको छ । सो बाहेक समपुरक, विशेष र अन्य तर्फ नौ दशमलव ९३ प्रतिशत अर्थात सात करोड ५० लाख रुपैया विनियोजन भएको छ ।

बेसीशहर नगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा तीन दशमलव ९३ प्रतिशतले बढि बजेट विनियोजन गरेको हो । आगामी आर्थिक वर्षका लागि गत वर्षको तुलनामा दुई करोड ८७ लाख ६२ हजार रुपैया बढि विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

बेसीशहर नगरपालिकाको बजेट अनुसार अनुमानित खर्च बहोर्ने श्रोतमध्ये आठ करोड ५६ लाख ८१ हजार आन्तरिक श्रोत तथा स्थानिय राजश्वबाट वेहोर्ने उल्लेख छ । सो बाहेक संघीय र प्रदेश राजश्व बाडफाँटबाट १३ करोड ५० लाख ७२ हजार, संघ र प्रदेश समानिकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघ र प्रदेश सशर्त, समपुरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख बेहोर्ने उल्लेख छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षको व्यय अनुमानसँगै नगरपालिकाको आर्थिक विधयेक २०७९ पनि जारी गरेको छ । गत आर्थिक वर्षको यथार्थ आय र चालु आर्थिक वर्षको प्रस्तावित आय, चालु आर्थिक वर्षको जेठ सम्मको यथार्थ आय तथा संशोधित आय अनुमान पनि पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्