काभ्रेका पम्पहरुलाई अनुगमन पछि सचेत गराईयो



काभ्रे।

प्रेट्रोलियम पदार्थ महङ्गो भएसँगै त्यसबाट हुने मूल्य वृद्धि नियन्त्रण गरी उपभोक्तालाई राहत उपलब्ध गराउने उदेश्यले जिल्लामा भएका प्रेट्रोलियम पदार्थ विक्री गर्ने पम्पहरुको अनुमगन गरिएको छ । अनुगमनका क्रममा पम्पहरुले विक्री गरिरहेको पे्रट्रोलियम पदार्थको अवस्था, तौल, गुणस्तर र सुरक्षा ब्यवस्थाका बारेमा जानकारी लिईएको थियो ।

‘उपभोक्ताहरुको गुनासोका आधारमा नियमित अनुगमनका क्रममा पम्पहरुको अनुमगन गरेका हौं’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘जिल्लामा भएका सबै पम्पहरुको अनुमगन गर्नेछौं । अनुगमन गरिएका पम्पहरुमा भएका केही प्राविधिक त्रुटीहरुलाई तत्काल सुधार गर्ने लिखित निर्देशन दिएका छौं । निर्देशन नमाने कानुन अनुसार कारवाही गर्छाै ।’ अरनिको राजमार्ग स्थित जनागालमा रहेका दुईवटा, बनेपा बजारमा रहेका चारवटा, धुलिखेलमा रहेका दुईवटा पम्पहरुको अनुमगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनु भयो ।

अनुुगमनका क्रममा आयल निगम र नाप तौल विभागले तोकेको मापदण्ड भित्र पम्पहरुले प्रेट्रोलियम पदार्थ विक्री गरिरहेका भए पनि आन्तरिक सुरक्षा नअपनाएको, उपभोक्ताहरुलाई विक्री गर्दा नोजलको माध्यमबाट केही एमएल प्रेट्रोलियम पदार्थ तल माथी पार्न सक्ने भन्दै सचेत गराएको छ ।

अनुगमनका क्रममा नाप तौल विभागले गुणस्तर हेरेको थियो । गुणस्तर र तापक्रममा कैफियत नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । बनेपा ६ मा रहेको पाँचकुमारी प्रेट्रोल पम्पको एउटा मेशिन ढिला घुमेका कारण तत्काल नचलाउने गरी बन्द गरिएको उहाँले बताउनु भयो । सोहि पम्पको स्टोर भित्र असुरक्षित देखिएकाले पाँच दिन भित्र मर्मत गरी सुरक्षित गर्न निर्देशन दिएको उहाँले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले ७ वटा पम्पमा मापदण्ड भित्रै रहेर प्रति लिटर ३ एमएलसम्म कम हुने गरेको फेला परेको भए पनि पाँचकुमारी पम्पमा भने ३ एमएल धेरै हुने गरेको भेटिएको थियो । ‘मूल्य वृद्धि भई उपभोक्ता समेत मारमा परेका बेला भएको अनुगमन पछि ब्यवसायीहरु पनि सचेत भएका छन्’–सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भन्नुभयो–‘हार्डवेयर र सफटवेयर दुबै अनुगमन गरिएको भए पनि शंकास्पद लागेका पम्पहरुमा फेरी अनुगमन गर्नेछौं ।’ पाँचकुमारी प्रेट्रोल पम्पमा देखिएको ३ एमएल धेरै देखिएको सामान्य भएको आयल निगमले बताएको छ ।

उपभोक्ताहरुले भने उक्त पम्पले अनुमगनका क्रममा मात्रै हो कि सधै त्यस्तो गरेको हो परिक्षण गर्न सुझाव दिएका छन् । अनुगमनका क्रममा नेपाल आयल निगम, नाप तौल विभाग, जिल्ला बजार अनुगमन समितिको टोली सहभागि थियो ।

 

प्रतिक्रिया दिनुहोस्