सिकलसेल भएका गर्भवती उच्च ‘जोखिम’मा



बाँके । 

सिकलसेल भएका गर्भवती सुत्केरीको मृत्युको जोखिम उच्च रहेको अनुसन्धानले देखाएको छ । सिकलसेल रोगका बारेमा अध्ययन अनुसन्धान गरिरहेका भेरी अस्पताल, नेपालगञ्जका डाक्टर राजन पाण्डेले सिकलसेल भएका गर्भवती सुत्केरीको मृत्युको जोखिम अन्यभन्दा उच्च रहने खुलासा गर्नुभयो ।

स्वास्थ्य कार्यालय, नेपालगन्जले आयोजना गरेको सिकलसेलसम्बन्धी कार्यक्रममा बोल्दै डा. पाण्डेले सिकलसेल भएका गर्भवती सुत्केरीको मृत्यु अन्यभन्दा २२ गुणा बढी रहने बताउनुभयो । ‘सिकलसेल भएका गर्भवतीको मृत्यु अन्यभन्दा २२ गुणा बढी हुन्छ’, डा. पाण्डेले भन्नुभयो– ‘विशेष गरेर थारू समुदायमा यो जनस्वास्थ्य समस्याको रूपमा देखा परिरहेको छ ।’

बाँकेमा गर्भवती सुत्केरी मृत्युदर अधिक छ । लुम्बिनी प्रदेशकै धेरै आमाको मृत्यु बाँकेमा भइरहेको छ । सुविधा सम्पन्न अस्पताल भएर पनि बाँकेमा वर्षेनी धेरै जना आमाको मृत्यु हुने गरेको छ । गत वर्ष ४५ जना, त्यसअघि ३५ जना आमाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा १४ जनाको मृत्यु भइसकेको छ । बाँकेमा मृत्यु भएका आमा धेरै मधेसी मुस्लिम समुदायका छन् । थारु समुदायको बाक्लो बसोबास भए पनि गर्भवती सुत्केरीको मृत्यु हुनेमा थारू समुदायको आमाको संख्या कम नै देखिएको छ । नियमित गर्भ जाँच गर्ने, समयमै स्वास्थ्य संस्थामा पुग्नेको मृत्युदर कम रहेको छ ।

डा. पाण्डेले सिकलसेल नियन्त्रणका लागि विवाहपूर्व नै कुण्डली मिलाउन सुझाव दिनुभएको छ । ‘विवाह पूर्व नै कुण्डली मिलाइएन भने यो रोग कहिल्यै नियन्त्रणमा आउँदैन, डा. पाण्डेले विश्वका धेरै देशमा यस्तै विधि अपनाइएको छ ।’ डाक्टर पाण्डेका अनुसार, विवाह पूर्व रगत जाँच गरेर मात्रै विवाह गर्ने । नौ महिनाको बच्चालाई दादुराको खोप लगाउन आउँदा सिकलसेल जाँच गर्ने, गर्भवती महिलालाई सिकलसेल जाँच गर्ने, बिमामा सूचीकृत गर्ने, सबैको रेकर्ड राखेर काम गर्दा सिकलसेल नियन्त्रण गर्न सकिन्छ ।

सरकारले सिकलसेलका बिरामीलाई एक लाखसम्मको औषधि दिने गर्दछ । भेरीमा औषधि खाइरहेका २० जनाको यो औषधिको सीमा सकिन थालेको छ । भेरीमा नियमित ८ सय ९४ जनाले उपचार गराइरहेका छन् ।स्वास्थ्य कार्यालय, बाँकेले थारू बस्तीमा सिकलसेलका रोगी र बाहक पत्ता लगाउने, उपचार गर्ने अभियान थालेको छ । राप्तीसोनारीमा ३ सय ७३ जनाको जाँच गर्दा ६३ जनालाई सिकलसेल देखिएको छ । ९ र १० कक्षा पढ्ने विद्यार्थीलाई विशेष फोकस गरेर जाँच गरिएको स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्