अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई स्थानीयको आग्रह : गोरखा आउनुहोस् चुनाव जिताउँछौँ



काठमाडौं ।

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेस गोरखाका स्थानीय नेता कार्यकर्ताहरूले आगामी प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट लड्न आग्रह गरेका छन् ।

वाग्लेले प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर ५ वा चितवन क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेको हल्लाकैबीच गोरखा कांग्रेसका स्थानीय नेताहरूले जन्मथालोबाटै चुनाव लड्न आग्रह गरेका हुन् ।

उनीहरूले गोरखामा बाबुराम भट्टराईपछि राज्यको नेतृत्वमा पुग्न सक्ने नेता नै नभएको भन्दै वाग्लेलाई भावी अर्थमन्त्री बनेर बुढीगण्डकी आयोजना अगाडि बढाउन सुझावसमेत दिएका छन्।

गण्डकी गाँउपालिका नेपाली कांग्रेस सभापति होमबहादुर राना मगरले वाग्लेलाई गोरखाबाट चुनाव लडेर अर्थमन्त्री बन्न सुझावसमेत दिएका छन्। गोरखामा नेतृत्वको अभाव रहेको छ, उहाँ गोरखाबाटै चुनाव लडेर गोरखा निर्माणमा लाग्नु पर्छ’ राना मगरले भने ।

प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरेर विभिन्न व्यक्तिले उम्मेदवारी घोषणा गरिरहेका बेला अर्थशास्त्री वाग्लेलाई कांग्रेस नेताहरूले काठमाडौं क्षेत्र नम्बर ५ वा चितवन क्षेत्र नम्बर १ बाट चुनाव उठ्न सुझाव दिएका छन्। तर, गोरखा क्षेत्र नम्बर १ को पार्टी मात्रै होइन जनता समेत वाग्लेलाई गोरखाको नेता भएको हेर्न चाहान्छन्।

‘हामी गोरखा क्षेत्र नम्बर १ को विकास हेर्न चाहान्छाँै, वाग्ले गोरखाबाटै चुनाव लड्नु पर्छ,’ सहिद लखन गाँउपालिकाका पार्टी सभापति काशी अम्गाँइले भने। वाग्ले गोरखा आउँदा कांग्रेसले मात्रै होइन माओवादी एमाले लगायत पार्टीले समेत समर्थन गर्ने दावी समेत सभापति अम्गाँइले गरेका छन्।

मिति घोषणा भइनसकेको भए पनि मंसिरभित्रै प्रतिनिधिसभाको चुनाव गर्ने सरकारको तयारी छ। निर्वाचन लड्ने तयारीका लागि वाग्लेले यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिइसकेका छन्। उनी आगामी अगस्टमा नेपाल फर्किंदै छन् ।

अमेरिकाको न्युयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्नेगरी गत असारमा नियुक्त भएका वाग्ले कांग्रेस शीर्ष नेताहरूसँग परामर्श गरेर अमेरिका गएका थिए। स्थानीय तहको निर्वाचनका क्रममा समेत उनले एक महिना लामो बिदा लिएर सक्रियता देखाएका थिए।

स्थानीयतहको निर्वाचनमा समेत गोरखाबाटै सकिक्रयता र सहयोग गरेकाले वाग्ले गोरखाबाटै चुनाव लड्ने विश्वास रहेको कांग्रेस गोरखाकी युवा नेतृ जानुका पन्त। महासमिति सदस्य तथा गण्डकी प्रदेश समस्य समेत रहेकी पन्तले वाग्ले गोरखाले चाहेको र रोजेको समेत बताइन। ‘उहाँ गोरखाबाट चुनाव लड्दा सवै जनताको समेत साथ हुनेछ,’ पन्तले भनिन्।

अहिले काठमाडौं ५ वा चितवन १ बाट निर्वाचन लड्न चर्चाले गोरखा कांग्रेस कार्यकर्ता दुखिद भएको गोरखाका जिल्ला सदस्य विश्वदिप श्रेष्ठ बताउँछन्। ‘उहाँ गोरखाबाटै चुनाव लड्दा राम्रो हुन्छ,’ श्रेष्ठले भने।

पार्टीको जिल्ला संरचनासँग मिलेर काम गरिरहेका कांग्रेस नेताहरूले गोरखानै वग्लेका लागि उपयुक्त हुने धार्चे गाँउपलिका सभापति सन्तोष गुरुङ बताउँछन्। ‘नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय व्यक्तित्व वाग्ले भएकोले गोरखा स्वागत गर्न अतुर छ,’ गुरुङले भने।

भिमसेन गाँउपालिका तथा जिल्लास्तरीय नेता तारा पुडासैनी पनि वाग्ले गोरखाबाटै चुनाव लड्न उपयुक्त हुने सुझाव दिन्छन्। ‘उहाँलाई हाम्रो पूर्ण सहयोग र समर्थन छ, गोरखाबाटै चुनाव लड्न आउनुहोस,’ पुडासैनीले भने।

विगतमा योजना आयोगका उपाध्यक्ष हुँदा वाग्लेको संयोजकत्वमा गठित सुझाव समितिले दिएको प्रतिवेदनमा आधारमा बुढीगण्डकी आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेगरी प्रस्ताव तयार पारिएको थियो। अहिले सोही प्रस्तावको वरपर रहेर बुढीगण्डकी आयोजना निर्माणको लागि तयारी गरिएको छ ।

बुढीगण्डकी आयोजना बनाउनकै लागि भने पनि गोरखाले एकपटक वाग्ले चाहेको सहिद लखन गाँउपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिलिप थापामगर बताउँछन्। अधिकांश वडा सभापति तथा गाँउपालिका सभापतिहरूले वाग्लेलाई गोरखामा चुनाव लड्न आग्रह गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्