सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प

0
Shares

मुगु  ।

सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको छ । पालिकाका लेखापाल जेठबहादुर बुढा गत फागुनमा दैलेख सरुवा भएपछि कामकाज रोकिएको हो ।

केही दिनका लागि काम चलाउन गमगढी–नाक्चेनाङला सडकमा कार्यरत लेखापाल राजबहादुर भण्डारीलाई काजमा ल्याइए पनि उनी दुई साता बसेर फिर्ता भएका छन् ।

असार मसान्त नजिकिँदै गए पनि पालिकामा लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारी तलब निकासामा समस्या भएको छ । ‘कोही लेखापाल पनि पालिकामा जान मान्दैनन्,’ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सेजुवालले भने, ‘कसरी काम गर्ने ? लेखाका काम नहुँदा अरु काम पनि प्रभावित भएका छन् ।’ पालिकामा सञ्चालित योजनाको अन्तिम भुक्तानी लिन उपभोक्ता समितिका पदाधिकारीहरू फाइल बोकेर आउने गरे पनि रित्तो हात फर्किने गरेको उनले जानकारी दिए ।

लेखापाल नहुँदा स्थायी कर्मचारीले २ र अस्थायी कर्मचारीले ५ महिनादेखि तलब पाएका छैनन् । कोष तथा लेखा नियन्त्रक र अन्य कार्यालयमा कार्यरत लेखापालहरूलाई सेजुवालले काम गरिदिन आग्रह गरे पनि सबैले अस्वीकार गरिरहेको उनको भनाइ छ ।

लेखापाल मात्र होइन सोरुमा अन्य कर्मचारी पनि बस्न मान्दैनन् । पालिकामा ५ बर्षमा १० प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । कार्यालय प्रमुख फेरबदल हुँदा विकास योजनादेखि प्रशासनिक काममा समस्या भएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनलगतै सुन्दर बान्तवाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा पाएका थिए । एक वर्ष नपुग्दै उनको सरुवा भएपछि सामान्य प्रशासन मन्त्रालयले तीर्थराज शाही, पर्शुराम उपाध्याय, धान्ने बुढा, भीमराज सेजुवाल र वीरेन्द्र मल्ल प्रमुख प्रशासकीय अधिकृत तोक्यो । उनीहरू कसैले पनि एक वर्षको कार्यकाल पूरा गर्न पाएनन् ।

त्यसयता लालबहादुर मल्ल र तीर्थराज शाही पनि कार्यालय प्रमुखको जिम्मेवारीमा आए भने अहिले स्वास्थ्य शाखा प्रमुख सेजुवालले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् ।

कार्यालय प्रमुख र कर्मचारी फेरबदलका कारण विकास निर्माण प्रभावित भएका छन् भने अनियमितता बढ्दै गएको छ । पालिकाविरुद्ध ५ वर्षमा २० वटा भ्रष्टाचारका मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको छ ।
तस्बिर :सोरु गाउँ पालिका कार्य लय