अन्तराष्ट्रिय योग दिवसमा विविध कार्यक्रम

बनेपामा सम्मानसहित योगाभ्यास

0
Shares

काभ्रे । 

आठौ अन्तराष्ट्रिय योग दिवसको अवसर पारी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोको आयोजना र पतञ्जली योग समिति काभ्रेको संयोजनमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा योग शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

योग अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका पहिलो प्रहरी प्रमुख एवं योग शिक्षक हरिभक्त बुढाथोकीलाई सम्मान गरिएको थियो । पतञ्जली योग समिति बागमति प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले अन्र्तराष्ट्रि मापदण्ड अनुसारको योगाभ्यास गराउनु भएको थियो । एक घण्टा अवधीमा मापदण्ड अनुसारको योगाभ्यास गराउँदै तौजलेले ब्यक्तिलाई स्वस्थ मात्रै नबनाई राष्ट्रलाई पनि सहि मार्गमा अघि बढाउन योग महत्वपूर्ण रहेको बताउनु भयो ।

नेपाल तथा विभिन्न राष्ट्रहरुले योगलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई सुखी र समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको तौजलेले बताउनु भयो । कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले मानिस स्वस्थ रहन योगको महत्व रहेको बताउनु भयो । धुलिखेल नगरपालिकाले स्वस्थ शहर कार्यक्रम मार्फत १२ वटै वडामा योग अभ्यासका लागि योग सेन्टरको स्थापना गर्ने तयारी गरी चारवटा विद्यालयमा योग अभ्यास कार्यक्रम संचालन गरिसकेको बताउनु भयो ।

‘धुलिखेल नगर भित्रका सबै नागरिकहरुलाई स्वस्थ बनाउन तयार गरिएका १२ वटा क्षेत्र मध्ये योग एउटा रहेको छ’ – नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो– ‘स्थानीय पाठ्यक्रममा योग समावेश गरी अभ्यास गराउन शुरु गरिएको छ ।’ बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरलाई स्वस्थ बनाउन फोहोरमैला ब्यवस्थापन र खानेपानीलाई सहज बनाउने प्रयास भईरहेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले चित, चरित्र र ब्यक्तिको स्वास्थ्य शुद्ध बनाउन योगको महत्व रहेको बताउनु भयो । सप्ताहप्यापी योग कार्यक्रम अन्र्तगत जिल्ला प्रशासन कार्यालयले बनेपामा योग अभ्यास गराएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । पतञ्जली योग समितिले जिल्लाका सबै योग केन्द्रहरुमा अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिरहेको अध्यक्ष हरिशरण श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला आयुर्वेद केन्द्रका प्रमुख डा. मनोज चौधरी, पतञ्जली योग समिति बागमति प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रिराज तिमल्सिना, पतञ्जली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, सल्लाहकार उद्धव तिमल्सिना, दमनकुमार श्रेष्ठ, ओम शान्ति बनेपाकी लक्ष्मी दिदी, ह्दयरोग निवारण प्रतिष्ठानका अध्यक्ष अशोक श्रेष्ठ, विविसी क्लवका अध्यक्ष महेश कर्माचार्य, वडा अध्यक्षहरु तथा योग साधक साधिका र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उपाध्यक्ष प्रकाश कायश्थले जानकारी दिनुभयो ।