दुई वर्षमा बन्नुपर्ने पुल पाँच वर्षसम्म पनि अलपत्र

0
Shares

स्याङ्जा । 

समयमै पुल निर्माण सम्पन्न नहुँदा विपद्को सामना गर्न बाध्य छन् स्याङ्जाको वालिङ नगरपालिका–११ डौवाका स्थानीय । २ वर्षमा सम्पन्न हुनुपर्ने पुल ५ वर्षसम्म पनि निर्माण नहुँदा वर्षादले खेतीयोग्य जमिनसहित जनधनको क्षति हुने हो कि भन्दै स्थानीय त्रसिद भएका हुन् ।

स्याङ्जाको वालिङ र भीरकोट जोड्ने आँधीखोलामा निर्माण हुनलागेको मोटरेवल पुलको बाँधबाट आँधीखोलामा आउन सक्ने बाढीले वालिङ–११ डौवावासी त्रसिद भएका हुन् । रायमाझी क्याराभान कन्सट्रक्सनले २ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लिएको छाङ्छाङदी छतिवन पुल समयमै निर्माण सम्पन्न नहुँदा आँधीखोलाले आसपासको जमिन कटान शुरु गरिरहेको छ । गतवर्ष आँधीखोलामा आएको बाढीले पनि समस्या भएको स्थानीय चन्द्रध्वज खाँण बताउनुहुन्छ । हालसम्म मानवीय क्षति भएको छैन भने खेतीयोग्य जमिनमा खासै क्षति पु-याएको छैन ।

पुल निर्माण गर्दा लगाएको बाँध समयमै नखोलिदिने हो भने आँधीखोलामा आएको बाढीले वालिङ–११ डौवा फाँटको सिङ्गो बस्ती र खेतीयोग्य जमिनमा क्षति पुग्ने अनुमान गरिएको छ । स्थानीयले ठेकेदार कम्पनीदेखि सडक विभाग र सम्बन्धित निकायसँग हारगुहार गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्दै आएका छन् । आँधीखोलाले स्वरूप परिवर्तन गरेमा करोडौंको खेतीयोग्य जमिन बगरमा परिणत हुने स्थानीय बताउँछन् ।

२०७५ साल कात्तिकमा पूर्वमन्त्री रघुबीर महासेठ र पद्मा अर्यालले संयुक्त शिलान्यास गरेको मोटेरेवल पुल पर्यटन प्रवद्र्धनका निम्ति निर्माण गर्न लागिएको पुल हो । स्वरेक मैदानबाट उड्ने प्यारागलाइडरका पारखीहरु र पर्यटकलाई सहजै पुग्न छोटो बाटोका लागि यो पुल निर्माण भएमा वालिङ र भीरकोट नगरपालिका जोड्ने काम गर्दछ । समयमै पुल निर्माण नहुँदा अहिले बाढीले ठूलो क्षति हुनेतर्फ ध्यान दिन सम्बन्धित निकायसँग आग्रह गरिरहेको स्थानीय चोलाकान्त पौडेलले बताउनुभयो ।

समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई कारबाही गरेर भए पनि यहाँको बस्ती र खेतीयोग्य जमिन जोगाउन सरकारले ध्यान दिनुपर्ने बताउँदै उहाँ भन्नुहुन्छ– ‘दुई वर्षमा सक्नुपर्ने पुल ५ बर्ष पुग्दा पनि सम्पन्न हँुदैन । अहिलेको बाढीले क्षति पुग्यो भने जिम्मा कसले लिने ?’ पटक–पटक ताकेता गर्दा पनि चासो नदिएको पौडेललगायत अन्य स्थानीयहरुको गुनासो छ । ‘न समयमै पुल बन्छ न हामी सुरक्षित छौ । ठेकेदारको लापरबाही र सडक विभागको निकम्वापनले जोखिम मोल्न बाध्य भएका छौं ।’ –पौडेलको भनाइ छ ।

समयमै पुल निर्माण नहुँदा वर्षादमा आँधीखोलामा आउने बाढीले ठूलो क्षति हुन सक्नेतर्फ वालिङ नगरपालिकाको ध्यानाकर्षण भएको वालिङ–११ का वडाध्यक्ष डण्डपानी पंगेनी बताउनुहुन्छ । यस सम्वन्धमा नगरपालिकाभित्र रहेको विपद् व्यवस्थापन समितिमार्फत तत्काल समाधानका लागि पहल गर्ने उहाँको कथन छ । ठेकेदार कम्पनीका इन्जिनियर कपिल कोइरालाले भने आउँदो मंसिर महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने दाबी गर्नुभयो । पुल सम्झौता लगत्तै कोरोना संक्रमण र अहिले आर्थिक महँगीले गर्दा तोकिएको समयमै पुल निर्माण गर्न नसकेको उहाँको भनाय छ ।

झण्डै १२ करोड ५४ लाखको लागतमा निर्माण हुन लागेको पुल ठेकेदारले विभिन्न समस्या देखाएर ५ वर्षदेखि अलपत्र रूपमा छाडेको छ । पुलको ४० प्रतिशत काम सम्पन्न भए पनि अझै ६० प्रतिशत काम बाँकी छ । बस्तीतिरको क्षेत्रमा आँधीखोलामा पुल निर्माण गर्दा लगाइएको बाँधलाई समयमै खोल्न नलगाउने हो भने आँधीखोलाले स्वरूप फेर्न सक्ने देखिन्छ । जसले हजारौं रोपनी जमिनसँगै मानवीय क्षति हुने देहिन्छ ।