‘नेताको मूल्यांकन गर्नुपर्छ’

0
Shares

तनहुँ । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिद्वारा विपी स्मृति भवन दमौलीमा आयोजित स्थानीय तह निर्वाचन २०७९ मा व्यास नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम वरिष्ठ नेता पौडेलले नेताले मात्रै कार्यकर्ताको मूल्यांकन नगरी अब कार्यकर्ताले पनि नेताको मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।

नेताको चरित्र बुझेर को सही को गलत छ भन्ने कार्यकर्ताले छुट्याउनुपर्ने पौडेलको भनाइ थियो । आफ्नो उत्तरदायित्वलाई गहन रूपमा लिन उहाँले जनप्रतिनिधिलाई सुझाव दिनुभयो । नेता पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय स्तरमा आवश्यकताअनुसारका योजना निर्धारण गर्नुपर्ने बताउँदै भन्नुभयो– ‘स्थान अनुसारको योजना निर्धारण गर्नुपर्छ । स्थानीय स्तरको योजना निर्धारण गर्न सके मात्रै विकास हुन्छ । जनप्रतिनिधिले विकास मात्रै गर्ने भन्दैमा महत्वाकांक्षी बन्नु हुँदैन । स्थानीयको आवश्यकता बुझ्नुपर्छ ।’

उहाँले गाउँमा रोजगारी र गाउँमै आम्दानी हुने योजना बनाएर जनतालाई गाउँमै बसुँबसुँ लाग्ने वातावरण बनाउनेतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।सहर बजारभन्दा ग्रामीण भेगलाई लक्षित गरी स्थानीय सरकारले आफ्ना नीति तथा कार्यक्रम बनाउनुपर्ने उहाँको जोड थियो । परम्परागत कृषिलाई व्यवसायीकरण गरी खाद्यान्नमा भइरहेको परनिर्भरता रोक्नुपर्ने वरिष्ठ नेता पौडेलले बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको अवसर सिर्जना हुने खालका योजना स्थानीय तहले ल्याउनुपर्ने भन्दै त्यसो भएको खण्डमा मानिस पुनः गाउँमै फर्किने बताउनुभयो । उहाँले गाउँमा जडीबुटी, फलफुल उद्योग खोल्न सकिने भन्दै त्यसका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरैलगायत विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यलाई बधाई ज्ञापन गरिएको छ ।