किर्ते गरी जग्गा बिक्री गरेको अभियोगमा ५ पक्राउ



काठमाडौं ।

विगत २४ वर्षदेखि जापान बस्दै आएका एक परिवारको कीर्तिपुरमा रहेको जग्गा किर्ते गरी बिक्री गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५ जनालाई पक्राउ गरेको छ ।

जापान बस्दै आएका तारानिधि लोहनीले कीर्तिपुर नगरपालिका २ मा रहेको कित्ता नम्बर ३४४ को ३६१ वर्गमिटर जग्गा भूमाफियाले नक्कली कागजात तयार पारी बिक्री गरेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ ।लोहनीको परिवार जापानमा रहेको र नेपाल कहिलेकाहीँ मात्रै आउने थाहा पाएपछि भूमाफियाको समूहले उक्त जग्गाको नक्कली पुर्जा बनाई जग्गाधनीसमेत नक्कली खडा गरी ७ करोड मूल्य बराबरको जग्गा बिक्री गरेको रहस्य लोहनी परिवार नेपाल आएपछि पत्ता लागेको थियो ।

२०६१ सालमा उक्त जग्गा खरिद गरेर जापान गएका लोहनीको परिवार गत जेठ ५ गते नेपाल आएपछि आफ्नो जग्गा बिक्री भएको थाहा पाई सीआईबीलाई गुहारेका थिए । नेपाल आएको बेला उक्त जग्गाको बायोमेट्रिक प्रणालीमार्फत् अभिलेखन गर्न मालपोत कार्यालय कलंकी पुगेका लोहनीको परिवारले जग्गा बिक्री भएको थाहा पाएका थिए ।भूमाफियाको समूहले जग्गाधनी शान्तादेवी लोहनीको मृत्यु भएको नक्कली कागजात बनाई श्रीमान् तारानिधि लोहानीको नाममा २०७७ पुस १५ गते उक्त जग्गा नामसारी गरी २०७७ फागुन १० गते सुनिता कर्माचार्यलाई उक्त जग्गा ३ करोड ७० लाखमा बिक्री गरेका थिए ।

शान्तादेवीको २०७७ भदौ १३ गते कालगतिले मृत्यु भएको र उनको श्रीमान् आफू भएको भन्दै नक्कली तारानिधि लोहनी बनेर गएका महावीर चन्दले शान्तादेवी लोहनीको किर्ते मृत्यु दर्ताको प्रमाणपत्र, नाता प्रमाणितको प्रमाणपत्र, तारानिधि लोहनीको नामको नक्कली नागरिकताको प्रमाणपत्रलगायतका किर्ते कागजातहरू बनाई सोही किर्ते कागजात मालपोत कार्यालय, कलंकीमा पेस गरी उक्त जग्गा २०७७ पुस १५ गते आफ्नो नाममा नामसारी गरेका थिए ।

नक्कली तारानिधि बनेका चन्दले भक्तपुरको भक्तपुर नगरपालिका–११ बस्ने सुनिता कर्माचार्यलाई २०७७ फागुन १० गते जग्गा बिक्री गरेको अनुसन्धानको क्रममा खुलेको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम सुवेदीले जानकारी दिनुभयो ।
प्रहरीले उक्त ठगी काण्डको अनुसन्धान गर्ने क्रममा शुरूमा नक्कली तारानिधि बन्ने चन्दलाई पक्राउ गरेपछि अन्य योजनाकारसमेत समातिएको एआईजी सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीले नक्कली तारानिधि चन्दसहित मुख्य योजनाकार एवं खरिद कर्ता खोज्ने र आर्थिक कारोबार व्यवस्थापन गर्ने सिन्धुपाल्चोकका गणेशबहादुर खनाल, मुख्य योजनाकार एवं नक्कली कागजातहरू बनाउने तथा मालपोत समन्वय गर्ने सोलुखुम्बुका बाबुराम कार्की र खरिदकर्ता खोज्ने एवं मध्यस्थकर्ताको भूमिका खेल्ने नुवाकोटका प्रेम खनाललाई पक्राउ गरेको छ ।त्यसै गरी खरिदकर्ता खोज्ने काम गर्नुका साथै मध्यस्थकर्ताको भूमिका निभाएका ममता भन्ने डासीमाया श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूका साथबाट विभिन्न व्यक्तिहरूका नाममा जारी गरिएका नक्कली नेपाली नागरिकताका प्रमाणपत्र ४ थान, नक्कली तारानिधि लोहनीको नामको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि १ थान, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नागरिताको प्रतिलिपि र जग्गाधनी पुर्जाको प्रतिलिपि ७ थान बरामद गरेको छ ।

विभिन्न व्यक्तिको नाममा जारी भएका जग्गाधनी दर्ता श्रेस्ता पुर्जा तथा जग्गाको नक्साको प्रतिलिपि १२ थान, विभिन्न व्यक्तिको अटो तथा पासपोर्ट साइजको फोटो ६० थान, विभिन्न कम्पनीका मोबाइल सेट १४ थान, सिम कार्ड २९ थानसमेत ब्युरोले बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्