दीर्घकालिन योजना एवं भूउपयोग नीति बनाउन विज्ञहरुको जोड



भक्तपुर ।

चाँगुनारायण नगरपालिका भित्र बसोबास गर्ने बौद्धिक, प्राज्ञिक एवं सरकारी उच्च तहमा रहेर कार्य गर्ने विज्ञहरुले चाँगुनारायणको विकासका लागि दीर्घकालिन योजना एवं भूउपयोग नीति बनाउन आग्रह गरेका छन् । विज्ञहरुले दीर्घकालिन योजना एवं भूउपयोग नीति नहुँदा चाँगुनारायणको सम्पदादेखि खनिजसम्म संकटमा परेको भन्दै यस्ता नीति बनाउन आग्रह गरेका हुन् ।

नगरप्रमुखसँगको अन्तरकृया कार्यक्रममा संसद सचिवालयका सचिव सुदर्शन खड्काले अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान बनाउने नाममा चाँगुको डाँडो भासेर अबैध बालुवा माटो बिक्री गरेको भन्दै यसअघि उत्तरदायी स्थानीय सरकार नभएको महसुस भएको बताउनु भयो । प्रदुषण फैलाउने इँटा भट्टालाई तत्काल हटाउनु पर्ने भन्दै उहाँले विश्व सम्पदा सूचीँमा रहेको चाँगुनारायणमा बालुवा र माटोको व्यापक दोहन भएको भन्दै सार्वजनिक यातायातका साधनको सहज पहुँच चाँगुनारायणका अधिकांश क्षेत्रमा नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नु परेको औल्याउनु भयो ।

नेपाल सरकारका पूर्व सचिव वामनप्रसाद न्यौपानेले उपत्यकाका काठ क्षेत्रको बिकासमा सरकारले दीर्घकालिन सोच नराख्दा राजधानी उपत्यकाका काँठ क्षेत्र अहिले पनि बिकट जस्तै सास्ती खेप्नु परेको भन्दै यसलाई अब स्थानीय सरकारले सम्बोधन गर्नु पर्ने औल्याउनु भयो । उहाँले गैरकानूनी जग्गा प्लटिङ् रोकेर कृषि योग्य जमिनको संरक्षण गर्नु पर्ने, नगरपालिकाले दीर्घकालिन योजना र भूउपयोग रणनीति तत्काल ल्याउनु पर्ने बताउनु भयो ।

नेपाल सरकारका सहसचिव धु्रब गैँडाले दिगो विकास र शुसासनका केन्द्रीय भएर नगरपालिका अगाडि जानु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा पत्रकार विकास थापाले नगरपालिका पारदर्शी र सूचनामैत्री हुनु पर्ने भन्दै विगत ५ बर्षमा नगरपालिकाभित्र भएको विकृति चिर्न नयाँ नगरप्रमुखले श्वेतपत्र जारी गर्नुपर्ने बताउनुभयो ।

विज्ञ नेत्रप्रसाद न्यौपानेले नयाँ पाठ्यक्रम निर्माण गर्दै नयाँ समय र प्रबिधि अनुरुप शिक्षालाई ढाल्दै लैजानु पर्ने आवश्यकता औल्याउनु भयो ।

सो अवसरमा साहित्यका हरिहर तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी केन्द्रय महामन्त्री एवं भक्तपुर सभापति मनोज थापा, प्राध्यापक शिव मुनंकर्मी, कृष्णप्रसाद दुवाल लगायतले नगरपालिकाको भ्रष्टाचार रोक्नु पर्ने, विरोध गर्नेहरुको आवाज सुन्नु पर्ने, विकासलाई आजका लागि नभई ५० वर्ष पछाडिलाई सोचेर योजना बनाउनु पर्नेलगायतका सुझाब दिनु भयो ।

कार्यक्रमको संयोजन गर्नुभएका पत्रकार सुन्दर खनालले नागरिक समाजका अगुवाको सल्लाह नगरपालिकाको आगामी नीति तथा कार्यक्रमका लागि मार्गदर्शक बन्न सक्ने भन्दै नगरप्रमुखसँग अन्तरकृया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

सुझाव सुनिसकेपछि चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने लक्ष्यका साथ जनअपेक्षा र आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम तय गर्ने क्रममा कार्यक्रमबाट आएको सुझाबलाई आत्मासात गर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडानंं ८ का वडाध्यक्ष जनक खत्रीले आर्थिक वर्ष २०७९÷०८० का लागि जनअपेक्षित नीति, कार्यक्रम तथा बजेट बनाउने उदेश्यले विभिन्न कोणबाट छलफल र सुझाब संकलन भइरहेको बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागार्इंले समिति श्रोत र साधनबाट धेरै उपलब्धी हासिल गर्ने गरी नगरपालिकाले योजना तर्जुमा गर्ने बताउनु भयो । उहाँले आउँदो आ.ब.का लागि नगरपालिकाले आन्तरिकतर्फ करिब रु ५२ करोडको बजेटको सिलिङ तयार पारेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्