नागरिक आरोग्य केन्द्र सञ्चालनमा

0
Shares

बैतडी ।

नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न बैतडीको सुर्नया गाउँपालिका–६ कोखेतमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याइएको छ । आयुर्वेद पद्धतिमार्फत उपचार सेवा दिने उद्देश्यले सो केन्द्रलाई सञ्चालन ल्याइएको हो ।

आरोग्य केन्द्रबाट सर्ने र नसर्ने रोगको रोकथाम तथा निदानका बारेमा सेवा सञ्चालन भएका छन् । पञ्चकर्म विधिबाट उपचार पनि हुने र बाथव्याधिलगायतका रोगहरुमा आयुर्वेद उपचार पद्धति राम्रो हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले बताउनुभयो । यस्तै, पायल्स, दमलगायतका रोगहरुको पनि आयुर्वेद उपचार पद्धतिबाट निदान गर्न सकिने उहाँको कथन छ । केन्द्रबाट नागरिकहरुलाई औषधि वितरण हुने र योगका बारेमा जानकारी प्रदान गरिनेछ ।

आरोग्य केन्द्रको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले आयुर्वेद उपचार पद्धतिमा नागरिकको पहुँच बढाउन केन्द्र सञ्चालन गरिएको बताउनुभएको थियो । यससँगै बैतडीका तीन स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना भएको छ । यसअघि जिल्लाको पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेका थिए ।