सुमन चम्किँदा आयोजक सेमिफाइनलमा



पोखरा । 

अनुभवी खेलाडी सुमन अर्याल चम्किँदा आयोजक हेम्जा छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेम्जा युनाइटेड क्लबको आयोजनामा पोखरा २५ हेम्जास्थित गौरीशंकर खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडमाथि ३–१ को सानदार जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

‘ए’ डिभिजन खेलिरहेका अधिकांश खेलाडीलाई लिएर प्रतियोगितामा सहभागिता गराएको हेम्जाले ‘बी’ डिभिजन खेलेको टिममाथि सहज जित निकालेको हो । राष्ट्रिय तथा ‘ए’ डिभिजन खेलिरहेका दीप कार्की, सुमन अर्याल, फ्लोरेन्ट कोयरा, सुरज ज्यु ठकुरीलगायत खेलाडीलाई लिएर मैदानमा उत्रिएको थियो ।

अनुभवी खेलाडीले भरिएको हेम्जाले खेलको शुरुवातदेखि नै बलमा आफ्नो पकड जमाएको थियो । खेलको शुरुवातदेखि नै निकै दबदबा राखेको हेम्जाका लागि सुमन अर्याल नायक बने । उनले २ गोलको महत्वपूर्ण योगदान दिए । यस्तै, अर्को गोल कमल थापा मगरले गरे । वीरगञ्जका लागि कृपा चौधरीले गोल गरे ।

शुरुवात देखि नै खेललाई आफ्नो नियन्त्रणमा राखेको हेम्जाले खेलको दोस्रो मिनेटमै गोल गर्ने अवसर खेर गयो । कमलले नै गरेको करिब ८० यार्ड टाढाबाट गरेको सशक्त प्रहारमा वीरगञ्जका गोलरक्षक तथा कप्तान दिलमणी चौधरी बाधक बनेलगत्तै वीरगञ्जका विवेक चौधरीको प्रहारलाई हेम्जाका गोलरक्षक दीप कार्कीले बचाउ गरे । सातौं मिनेटमा सुरज ज्यु ठकुरीको क्रसमा सुमन अर्यालको प्रहारमा वीरगञ्जका डिफेन्डर शिसास थापा बाधक बने । उनले हेम्जाको गोल गर्ने सुवर्ण अवसरलाई डिफेन्ड लाइनबाट क्लियर गरिदिए ।

खेलको ११औं मिनेटमा हेम्जाले पेनाल्टीको अवसर प्राप्त ग-यो । हेम्जाका सुनील विकको क्रसलाई डी एरियाभित्र नियन्त्रणमा लिने प्रयास गर्दा वीरगञ्जका सिर्जन क्षेत्रीको हातमा लागेपछि पेनाल्टीको अवसर प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा सुमनले सहजै गोल गरे । २७औं मिनेटमा हेम्जाका फ्लोरेन्टले वीरगञ्जका कृपा चौधरीलाई ‘डी’ एरियानजिकै लडाएपछि वीरगञ्जले खेलमा फर्किने अवसर प्राप्त गरेको थियो । निकै नजिकबाट पाएको स्वर्ण फ्रि–किकको विवेक चौधरीले सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरियो । २८औं मिनेटमा हेम्जाका कप्तान मनबहादुर तामाङको क्रसपासमा कमलले उत्कृष्ट हेडर गर्दा गोलरक्षक दिलमणिले बचाउ गरे ।

२९औं मिनेटमा वीरगञ्जका विवेक अफसाइड रहँदा बराबरी गर्नबाट चुके । कृपाले उत्कृष्ट क्रसपास गरे पनि उनी पहिले नै अफसाइड रहँदा बराबरीको अवसर खेर गएको हो । खेलको ३६औं मिनेटमा कमलले डीबक्सभन्दा बाहिरबाट शक्तिशाली प्रहार वीरगञ्जका गोलरक्षकको हातमा लाग्दै गोल हुन पुगेको थियो । त्यसपछि वीरगञ्ज निकै दबाबमा परेको थियो । पहिलो हाफमा २ गोलले पछि परेको विरगंजको दोस्रो हाफको अन्त्यमा मात्रै खेलमा फर्किने प्रयास गरेको थियो त्यतिन्जेल निकै ढिला भइसकेको थियो । हेम्जाले दोस्रो हाफको सुरुवाती २ मिनेटमै गोल गर्दै अग्रता तेब्बर पार्दा वीरगञ्ज समस्यामा परेको थियो । खेलको ४८औं मिनेटमा हेम्जाका सुमनले व्यक्तिगत दोस्रो गोल गरे । उनी खेलको ‘म्यान अफ दी म्याच’ समेत घोषित भए ।

७६औं मिनेटमा हेम्जाका गोलरक्षक दिप कार्की बल खेलाउँदै कर्नर क्षेत्रतर्फ पुगिसकेको अवस्थामा वीरगञ्जका विवेकले बल खोस्दै पास दिए पनि कुनै खेलाडी पोजिसनमा नहुँदा सुवर्ण अवसर खेर गएको थियो । वीरगञ्जले खेल सकिन केही मिनेट मात्रै बाँकि रहँदा ३ वटा अवसर खेर फालेको थियो । उक्त अवसर खेर जादाँ जितबाट वञ्चित हुँदै घर फर्किएको छ । लगातार प्रयास गरिरहेको वीरगञ्जका लागि कृपा चौधरीले खेलको ८८औं मिनेटमा गोल गरे ।

यसअघि उनले खेलको ८७औं मिनेटमा हेम्जाका डिफेन्डर बिट भइसकेको अवस्थामा बल नियन्त्रणमा लिँदै प्रहार गर्न खोजे पनि प्रहार गर्न सफल भएनन् । बल र खुट्टाबीच तालमेल नमिल्दा बल फुत्कियो । वीरगञ्जका विवेकको प्रहारलाई दीप कार्कीले अकल्पनीय बचाउँ गरे । अमर डंगोलको पासमा विवेकले डि एरियाभित्रबाट सेकेन्ड बार च्याप्दै गरेको प्रहारमा अनमार्क रहेका दीप कार्कीले डाइभ गर्दै उत्कृष्ट बचाउँ गर्दा अग्रता घटाउनबाट वीरगञ्ज चुक्न पुगेको हो । त्यसलगत्तै विज्ञान चौधरीको पासमा राकेश चौधरीको प्रहार दोस्रो बार नजिकैबाट बाहिरिँदा अर्को अवसर खेर गएको थियो ।

प्रतिक्रिया दिनुहोस्