लम्की-टीकापपुर सडक निर्माणमा ढिलाई

समयमा निर्माण नसकिँदा स्थानीयहरुलाई सास्ती , यातायात सेवा समेत प्रभावित



टीकापुर ।

हुलाकी सडक आयोजना अन्तर्गत निर्माण हुन लागेको लम्की टीकापुर हुँदै खक्रौला सम्मको सडकको निर्माण कार्यमा ढिलाई भएको छ । २०७७ साल जेठ २ गते सम्झौता भएको उक्त सडक २०७९ मंसिर २७ गते सम्ममा निर्माण गरिसक्नुपर्ने छ । तर सडक निर्माणको गति हेर्दा अर्को असार सम्ममा पनि निर्माणले पूर्णता पाउनेमा आशंका ब्यक्त गर्न थालिएको छ ।निर्माण ब्यावसायीहरुको कम्जोरीले सडक निर्माणले गति लिन नसकेको स्थानीयको आरोप छ ।

देशका विभिन्न स्थानमा ठेक्का लिने र समयमा कुनै ठाउँका पनि काम सम्पन्न नगर्दा विकास निर्माणका काम समयमा नसकिने समस्याले गर्दा सवैतिर समस्या देखिएको छ । निर्माण ब्यावसायीहरुको बाहानबाजीले सडक निर्माणको काम ढिलाई भएको हो । कैलालीको लम्कीलाई केन्द्र बनाएर निर्माण हुन लागेको सडक खक्रौला सम्मको दूरी २७ किलोमिटर रहेको छ ।

उक्त सडकलाई तीन भागमा बाँडेर निर्माण काम भइरहेको छ । लम्कीदेखि ८ किलोमिटरको दुरी रहेको पथरैया नजिकको केराबारी सम्मको निर्माण जिम्मा कालिका कन्स्ट्रकसन जेभिले ४० करोड १९ लाख९१ हजार ६ सय १६ रुपैंयामा ठेक्का लिएको छ भने केरावारी देखि अस्नेहरी सम्मको ४० करोड ९९ लाख ९ हजार ६ सय ८३ को लागतमा एपेक्स खड्का कृष्ण जेभिले निर्माण गर्दै छ । करिब १० किलो मिटर लामो सडकलाई ३ भागमा विभाजन गरेर काम भइरहेको छ ।

यस्तै अस्नेहरी खक्रौलाको करिब ११ किलोमिटर दुरी सडकको निर्माणको जिम्मा रायमाझी गलवा जगदम्बा निर्माण कम्पनीले जिम्मा लिएको छ । सो सडक निर्माणकोलागि ३३ करोड २० लाख ६६ हजार ६ सय ३० रुपैंयामा ठेक्का गएको छ । यो सडक खण्डको खक्रौला पुल पारीको करिब ५०० मिटर सडक भारत नेपालको सीमा समस्या देखिएकाले हाल सो क्षेत्रमा काम रोकिएको छ ।

नेपाल सरकारले हुलाकी सडक र पूर्वपश्चिम राजमार्ग जोड्ने उद्येश्यले निर्माण कार्य थालिएको सडकको भौतिक प्रगती सन्तोषजनक नरहेको हुलाकी सडक आयोजनाका इन्जिनियर दीपक सुनारले बताउनुभयो । सम्झौता भएको मिति अनुसार कालिका कन्स्ट्रकसन जेभिले करिब ५० प्रतिशत काम गरेको छ भने अन्य दुई निर्माण कम्पनीले हालसम्म करिब २५ प्रतिशतमात्र काम गरेको इन्जिनियर सुनारले बताउनुभयो । निर्माण काममा देखिएको ढिलासुस्तीका बारेमा स्थानीय बासिन्दाहरुले बारम्बार प्रश्न गर्ने गरेको र निर्माणको काम छिटो सक्न भन्दै दवाव दिने गरेको उहाँले बताउनुभयो ।

लम्की टीकापुर खक्रौला सडक निर्माणमा भएको ढिलाईले सडक छेउको वस्ती निकै प्रभावित भएको छ । लगातर दुई वर्षदेखि सडक किनारका मानिसहरुले धुलोका कारण निकै सास्ती ब्यहोर्नु परेको छ । सडकमा उडेको धुलोले स्वास्थयमा प्रतिकुल असर परेको छ । बालक बृद्धहरुलाई बढी समस्या देखिएको छ । रुघाखोकी ,ज्वरो आउने र बुढाबुढीलाई दमको समस्या देखिएको स्थानीय बासिन्दाहरु बताउँछन् ।

सडक निर्माणले गति नलिँदा धुलो धुवाँबाट छुट्कारा पाउन नसकिएको सडक किनारका बासिन्दा यमबहादुर थापा बताउनुहुन्छ । सडकमा पानी हाल्ने ब्यवस्था समेत नगरेकाले चौविसै घण्टा धुलो खानुपरपेको छ । जनताको स्वास्थ्यमा परेको असरको जिम्मा कस्ले लिने भन्दै युवासंघका नेता जनक खड्काले सडक निर्माणको कामलाई तिब्रता दिनुपर्ने बताउँदै निर्माण कम्पनीले दैनिक तीन पटक सम्म सडकमा पानी हाल्नुपर्ने ब्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

निर्माण कम्पनीहरुले विभिन्न बाहना गर्दै सडक निर्माणमा ढिलाई गर्दा जनताले खेप्नुपर्ेको सास्ती प्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै सडक निर्माणको कामलाई तिब्रता दिनुपर्ने बताउनुभयो । सडक निर्माणमा ढिलाई गरेमा नागरिक आन्दोलन शुरु गरिने खड्काले बताउनुभयो । जनताले आवाज नउठाएको लाई कम्जोरी ठान्दै सडक निर्माणमा भइरहेको ढिलाई प्रति आफ्नो संगठनको गम्भीर ध्यानाकषण भएको बताउनुभयो ।

प्रशासनले पनि जिल्लामा सञ्चालित ठूला विकास निर्माणका योजनामा भएको ढिलाई प्रति चासो राख्न समेत स्थानीयले आग्रह गरेकाछन् । निर्माणाधिन लम्की टीकापुर सडकको करिब १४ किलोमिटर सडकमा यातायात सञ्चालनमा निकै कठिनाई हुने गरेको छ । वर्षातमा सडक पुरै हिलाम्य हुने भएकाले सवारी साधन चलाउन समेत निकै कठिनाई हुने गरेको यातायात ब्यावसायीहर बताँछन् । धुलामन्य र हिलाम्य सडकमा याता गर्दा यात्रीले समेत दुःख पाउने गरेकाछन् । १४ किलो मिटरको सडक पार गर्न करिब पौने घण्टभन्दा बढी लाग्ने गरेको ब्यावसायीहरुको गुनासो छ ।

लम्की टीकापुर हुँदै खक्रौला सडक निर्माणको जिम्मा पाएका गलवा निर्माण कम्पनीका तिलक लम्साल र खड्का कृष्ण जेभिका रतन खड्का स्थानीय तहमा मेयर हुनुभएको छ । उहाँहरुको आफ्नै कार्यक्षेत्रमा ब्यस्तता हुने भएकोले निर्माण कामहरुले गति लिन सकिरहेका छैनन् । उहाँहरुको ब्यस्ताताले नागरिकहरुले कष्ट झेल्नुपर्ने अवस्था नआओस भन्ने तर्फ सरकार सचेत हुनुपर्ने स्थानीयको भनाई छ ।

सडक निर्माणम भएको ढिलाईका बारेमा जानकारी लिन गलवाका तिलक लम्साल,खड्का कृष्णका रतन खड्का र कालिकाले जिम्मा पाएको सडक हेर्दै आएको भागेश्वरका दिनेश मल्लसंग सम्पर्क गर्दा उहाँहरु कसैले पनि फोन उठाउनु भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्