मन्त्रालयले बजेट नपठाउँदा १६ करोड निर्माण कम्पनीले पाएनन्


भद्रपुर  ।

अर्थ मन्त्रलयले बजेट नपठाउँदा १६ करोडभन्दा बढी रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको पाइएको छ ।झापाका नदी तथा खोलाहरूमा तटबन्धको काम शुरू गर्नु भनी जनताको तटबन्ध कार्यक्रम झापासँग लिखित रूपमै सहमति जनाएको अर्थ मन्त्रालयले बजेट नपठाउँदा झापाका नदी तथा खोला नियन्त्रण (तटबन्ध)को काम प्रभावित बनेको हो ।

सहमतिअनुसार झापाका सात वटा नदीमा तटबन्धको काम शुरू गरेको जनताको तटबन्ध यतिबेला समस्यामा परेको छ । बाढीबाट प्रभावित क्षेत्रको पहिचान गरी जनताको तटबन्ध कार्यक्रम झापाले गत माघदेखि जिल्लाका सात वटा नदीमा एकैपटक तटबन्धको काम शुरू गरेको थियो । सहमतिअनुसार सात वटा नदीमा तटबन्धको काम शुरू गरेको जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख रूपनारायण अधिकारीले बताउनुभयो ।

अर्थ मन्त्रालयले आफैंले गरेको सहमति तोड्दै एक रुपियाँ पनि बजेट नपठाएका कारण समस्या भएको उहाँको भनाइ छ ।तटबन्धका लागि टेन्डर प्रक्रियाबाट ठेक्का लगाएर काम धमाधम गरिरहेको अवस्थामा अर्थले बजेट नपठाउँदा १६ करोड बढी रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी देखिएको उहाँको भनाइ छ ।पहिलो किस्ताबापतको रकमसमेत नदिएको निर्माण कम्पनीले भुक्तानीका लागि दबाब दिइरहेको उहाँले बताउनुभयो । मनसुनअघि नै सक्नुपर्ने काम निर्माण कम्पनीहरूले अधुरै छाड् थालेको उहाँले बताउनुभयो ।

जिल्लाको बाढी प्रभावित तथा कटान क्षेत्रको पहिचान गरी नदीहरू तटबन्ध बनाउनुपर्ने भन्दै अर्थसँग जनताको तटबन्ध कार्यक्रम झापाले २९ करोड बजेट माग गरेको थियो । अर्थले काम शुरू गरिहाल्नु, बजेट बिस्तारै पठाउने सहमति जनाएकोमा हाल आएर बजेट रोक्दा थप समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।झापाको मेची, देउनियाँ, तिरीङ, कनकाई, मावा, कमल र रतुवा नदीमा तटबन्धको काम भइरहेको छ । सात वटा नदीमा समग्र करिब ६ देखि ७ किलोमिटरसम्म तटबन्धको काम थालिएको छ ।

जिल्लामा तटबन्धको कामको अवस्था बुझ्न जलस्रोत तथा सिचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्य, उपमहानिर्देशक कृष्णप्रसाद नेपाल, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव बाबुराम भण्डारीलगायत चार जनाको टोलीले १५ दिनअघि स्थलगत अनुगमन गरेर फर्किएका थिए ।मन्त्रालयबाट आएको टोलीले जेठ १५ र १६ गते सात वटै नदीमा पुगेर तटबन्ध कामको प्रगति, अवस्था र थप गर्नुपर्ने अवस्थाको बारेमा स्थलगत अनुगमन गरेको जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख अधिकारीले बताए ।

अर्थले बजेट नपठाउँदा कामले तीव्रता नपाउनुका साथै थप समस्या उत्पन्न भएको बारेमा उहाँलाई पनि जानकारी गराइसकेको उहाँले जनाउँनुभयो र अघिल्लो वर्ष कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिकाका स्थानीय जोखिममा परेका थिए । बाढीका कारण त्यहाँका सयौं घरपरिवार विस्थापित नै भए । त्यही जोखिमलाई लक्षित गरी बाढी पसेको स्थानमा यस वर्ष तटबन्धको काम थालिएको छ । तर बन्दै गरेको तटबन्ध काम अधुरो रहँदा खतरा ज्युका त्युँ रहेको स्थानीय बुद्ध हेमरमले बताउनुभयो ।

गत वर्ष बेमौसमी बाढीका कारण विस्थापित बनेका बस्ती अहिले पनि जोखिममै रहेको उहाको भनाइ छ । गौरीगञ्ज १ टप्पु बस्ती देविगाडा क्षेत्रमा हाल तटबन्ध निर्माणाधीन अवस्था छ । तर, पूरा तटबन्ध निर्माण गर्न बजेट नहुँदा समस्या भएको जनताको तटबन्ध कार्यक्रमले जनाएको छ । झापामा हरेक वर्ष बाढीले क्षति पु-याउँदै आएको छ ।

कतिपय क्षेत्रमा उचित व्यवस्थापन हुन नसक्दा बाढीको जोखिम त्यस्तै छ । यस वर्ष पनि मनसुन शुरू भइसकेको छ । खोला तथा नदीहरूमा पानीको बहाव बढ्न थालेको छ । सरकारले समयमा बजेट नपठाउँदा नदी नियन्त्रणको काम सम्पन्न हुन सकेन, जसले गर्दा बाढी प्रभावित क्षेत्रका बासिन्दा चिन्तित देखिएका छन् ।