शुल्क नतिर्ने ग्राहकको लाइन काटियो


हुम्ला ।

हिल्दुम विद्युुत् वितरण केन्द्रले लामो समयसम्म विद्युत् महसुल तिर्न अटेर गर्ने २ सय १७ ग्राहकको लाइन काटेको छ । हिल्दुम विद्युुत् वितरण केन्द्रल केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गरेको हो ।

केन्द्रका प्रमुख साजन ऐडीले ६० दिनभन्दा बढी समय उपभोग गरेको विद्युत्को महसुुल नतिर्ने ग्राहकको लाइन काट्ने गरेको बताउनुभयो । उहाँले विद्युुत् प्रयोगपछि नियमित रूपमा महसुल तिर्ने बानी बसाल्न केन्द्रले यसरी लाइन काट्ने गरेको बताउनुभयो ।

चैत महिनामा मात्रै महसुल नतिरेका २ सय १७ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख एडीले बताउनुभयो । उहांका अनुसार ग्राहकको लाइन काटेर कारबाही गरेपछि १ महिनामा २२ लाख १ हजार ७सय ७६ रुपियाँ बाँकी महसुल वितरण केन्द्रले उठाएको छ । अझै ८ लाखभन्दा बढी उठ्न बाँकी रहेको बताउनुभयो ।

अहिले पनि ८३ ग्राहकको लाइन काटिएको छ । यसमा सरकारी कार्यालय, उद्योग र व्यक्तिगत ग्राहक परेका छन् । उहाँले अब विद्युत् महसुल नतिरेको साठी दिन कट्नेबित्तिकै बिना सूचना लाइन काटिने बताउनुभयो । केन्द्रसँग सिमकोट र खार्पुनाथ गाउँपालिका गरी २ हजार २ सयभन्दा बढी ग्राहक छन् ।