शिविरबाट एक हजार ३३ जना लाभान्वित


तनहुँ ।

पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार ३३ जना लाभान्वित भएका छन् । एकता महिला सशक्तीकरण सञ्जाल व्यास १ भादगाउँको आयोजनामा सोमबार र मंगलबार सञ्चालित शिविरबाट महिलाहरूले सेवा लिएका हुन् ।
घरदैलोमा नै शिविर सञ्चालन हुँदा महिला लाभान्वित भएको सञ्जालका सचिव गीता शाहीले बताउनुभयो । स्वास्थ्य परीक्षणमा क्रममा चार जनाको समस्या जटिल देखिएकाले थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल रिफर गरिएको उहाँले बताउनुभयो ।

व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताउनुभयो । उहाँले समय समय सञ्चालन गरिने यस्ता शिविरबाट लाभ लिन महिलाहरूलाई सुझाव दिनुभयो । शिविर विपी मेमोरियल क्यान्सर अस्पताल चितवनको प्राविधिक सहयोग र व्यास नगरपालिकाको आर्थिक सहयोगमा गरिएको हो ।