कृषि तथा पशुपन्छी तालिम केन्द्र हस्तान्तरण

0
Shares

काठमाडौं ।

जापान सरकारले काभ्रेपलाञ्चोकमा नवनिर्मित कृषि तथा पशुपन्छी तालिम केन्द्र लभ ग्रीन नेपाललाई हस्तान्तरण गरेको छ । जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) को अनुदान सहयोगअन्तर्गत अमेरिकी डलर ८५ हजार १८९ को सहयोगमा नयाँ भवन निर्माण गरिएको हो ।

सो अवसरमा राजदूत नेपालका लागि जापानका राजदूत डा. किकुटा युताकाले परियोजनामा संलग्न सबैलाई बधाई दिनुभयो । उहाँले यो परियोजना सम्पन्न गर्न दूतावाससँग मिलेर काम गर्ने सबैको प्रयासको प्रशंसा गर्दै तालिम केन्द्रले सामुदायिक सम्पत्ति बन्ने र स्थानीय जनताको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लभ ग्रीन नेपाल सन् १९९१ मा स्थापना भएको हो । ग्रामीण क्षेत्रमा बसोबास गर्ने न्यून आय भएका मानिसहरूको उत्थानमा योगदान पु-याउने उद्देश्यले लभ ग्रीन नेपालले यसअघि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका कृषकहरूको जीविकोपार्जनमा सुधार गर्न विभिन्न कृषि तथा पशुजन्य उत्पादनको तालिम दिने काम गरेको थियो ।

नयाँ तालिम केन्द्रले स्थानीय कृषकहरूलाई तालिम दिनुका साथै उनीहरूको जीविकोपार्जनमा टेवा पुग्ने जापानी दूतावासको विश्वास छ । यस सहयोगले जापान र नेपालका जनताबीचको मित्रतालाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास पनि दूतावासले लिएको छ ।
देशको सामाजिक–आर्थिक विकासका लागि तल्लो तहका जनतालाई प्रत्यक्ष लाभ पु-याउने परियोजनाहरू कार्यान्वयन गर्न जीजीपी स्थापना गरिएको थियो । सन् १९९१ देखि नेपालमा २०० भन्दा बढी जीजीपी परियोजना कार्यान्वयन भइसकेका छन् ।