विवादको घेरामा बनेको टोलीको बिजोग



काठमाडौं । 

एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत तेस्रो चरणमा नेपाली टोलीले तीनै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा जोर्डनलाई २–० मा रोकेको नेपाली टोलीले दोस्रो खेलमा घरेलु टोली कुवेतसँग ४–१ को हार आत्मसात ग-यो । तेस्रो तथा अन्तिम खेलमा भने दुबै खेलमा बेहोरेको गोल संख्याभन्दा बढी गोल नेपालले बेहोर्नुप-यो । नेपाल इन्डोनेसियासँग ७–० ले हारेको हो । योसँगै नेपालले प्रतियोगितामा १ गोल गर्दा १३ गोल आफ्नो पोस्टमा प्रहार भए । उक्त एक गोल दर्शन गुरुङले गरेका हुन् ।

नेपाली युवा टोलीको प्रदर्शन पहिलो खेललाई छाडेर बाँकी दुई खेलमा निकै नराम्रो भएको थियो । स्टार खेलाडीविनाको यो टोलीबाट ठूलो आस पनि गर्न सकिँदैन । मुख्यतया यो टोलीमा नेपाललाई बढी गोल व्यहोर्नबाट बचाउने गोलकिपर किरण चेम्जोङ पनि छैनन् । यसैले पनि यो टोलीले कति गोल बेहोर्ने यसैमा सबैको ध्यान केन्द्रित भएको थियो ।

पहिलो खेलमा जोर्डनसँग साँघुरो हार बेहोर्दा टोलीको प्रशंसा भयो । दोस्रो खेलमा कुवेतसँग हार्दा पनि खासै नकारात्मक टिप्पणी भएन । तर, इन्डोनेसियासँग हार्दा भने नेपाली मिडियाहरूले लज्जास्पद हार भनेर लेख्न कन्जुस्याइँ गरेनन् । साँच्चिकै यो हार लज्जास्पद नै थियो । प्रत्यक्ष प्रसारणमा हेर्दा योभन्दा बढी गोलसंख्याबाट हारिनेबाट नेपाल बचेको थियो । चारवटा प्रहार त क्लोज रेन्जमा विपक्षीका खेलाडीले बाहिर हानेका थिए ।

प्रतियोगिता हुनअघि क्लोज क्याम्पमा विवाद भएपछि प्रशिक्षक अल्मुताइरीको प्रशिक्षणमा नेपालका वरिष्ठ १० खेलाडीले क्याम्प छाडेका थिए । यस विषयमा खेलाडीको पक्षमा बोलेको भन्दै पहिलो रोजाईका गोलरक्षक किरणलाई पनि अल्मुताइरीले टोलीमा राखेनन् । यस्तै, अर्को अनुभवी गोलरक्षक विकेश कुथुले भने आफुलाई यो झन्झटबाट अलग गरेका थिए । अल्मुताइरीको लागि विकल्प दीप कार्कीमाथि नै रह्यो र उनलाई नै मौका दिइएको थियो । यति ठूलो विवादको घेरामा अल्मुताइरीले नयाँ खेलाडीलाई समेटेर बनाएको यो टोली हो ।

प्रतियोगिता शुरु हुनुअघि खेलाडी र प्रशिक्षकबीचको मनमुटावलाई व्यवस्थित ढंगले मिलाउन नसक्नु एन्फाको पनि कमजोर रह्यो । यदि, यो विषयलाई आन्तरिक रुपमा मिलाएको भए सायद नेपालले छनोट खेलमा अर्कै नतिजा व्येहोर्ने थियो । सम्बन्धित निकाय मौन हुँदा खेलमा कति प्रभाव पर्छ भन्ने कुरा यो छनोट खेलले प्रस्टै देखाएको छ । प्रतियोगितामा किरण भएको भए यतिका गोल खाने छैन भन्नेहरु अहिले धेरै छन् । त्यस्तै, अञ्जन विष्ट, विमल घर्तीमगर भएका भए अझ नेपालले जित हासिल गर्न सक्ने भन्नेहरू छन् । अल्मुताइरी र वरिष्ठ खेलाडीको इगोले नेपाली फुटबलको बिजोग भएको छ ।

प्रतिक्रिया दिनुहोस्