पूर्ण खोप सुनिश्चिताका लागि घरधुरी सर्वेक्षण

0
Shares

बैतडी । 

पूर्ण खोप सुनिश्चितताका लागि बैतडीमा घरधुरी सर्वेक्षण थालिएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा घरधुरी सर्वेक्षण थालिएको हो ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले सबै खोप लगाए-नलगाएको बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भईरहेको छ । सबै पालिकाका तीन-तीन वडामा र एक वडामा १५ घरधुरीका हिसाबले सर्वेक्षण कार्य भईरहेको हो ।

पालिकाहरुले यसअघि नै प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरिसकेकाले सो कार्यलाई प्रमाणीकरण गर्नका लागि जिल्लाभरी घरधुरी सर्वेक्षण कार्य थालिएको प्रमुख भट्टले बताउनुभयो । १६ महिनादेखि २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए-नपाएको बारेमा सर्वेक्षण भईरहेको हो । जन्मेदेखि २३ महिना सम्मका बालबालिकाहरुलाई विभिन्न रोग विरुद्ध १२ खोप दिने गरिएको छ ।

उहाँले भन्नुभयो– ‘पालिकालेहरुले गरेको सर्वेक्षणलाई हामीले सही छ कि छैन भनेर प्रमाणीकरण गरिरहेका छौं, सर्वेक्षणका क्रममा कुनै बालबालिका छुटेको पाइएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउछौं ।’जेठ मसान्तसम्म सञ्चालन हुने घरधुरी सर्वेक्षण कार्यक्रममा स्वास्थ्यकर्मी, पत्रकार, खोप समन्वय समितिका पदाधिकारी, रेडक्रसकर्मी लगायतको सहभागिता रहेको छ ।

बैतडी जिल्लालाई वि स २०७२ सालमा पूर्ण खोपयुक्त जिल्ला भईसकेकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको छ । पूर्ण खोप युक्त जिल्ला घोषणापश्चात खोप पाउने उमेर समूहका बालबालिकाहरुले पूर्ण खोप पाएमा पालिकाहरुलाई प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने र त्यसपछि स्वास्थ्य कार्यालयले प्रमाणीकरण गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ । यो वर्ष असार पहिलो साता पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्ने तयारी रहेको छ ।