बझाङ जिससमा काँग्रेसका बोहरा निर्विरोध निर्वाचित

0
Shares

बझाङ ।

जिल्ला समन्वय समिति बझाङको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नरबहादुर बोहरा निर्वाचित भएका छन् । नेकपा एमालेले उम्मेदवारी नै नदिएपछि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनको उम्मेदवारहरुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माका अनुसार बझाङ जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका नरबहादुर बोहरा र उप–प्रमुखमा नेकपा माअाेवादीका कृष्णबहादुर विष्ट निर्वाचित भएका छन् । यस्तै समितिको महिला सदस्यमा नेपाली कांग्रेसकी अस्मितादेवी चदारा, बाटुली देवी ओड र एकीकृत समाजवादीबाट लक्ष्मीदेवी कामी निर्विरोध भएकी छन ।

त्यस्तै खुल्ला सदस्यमा समाजवादीका गाैरीशंकर जोशी,माअाेवादीका टोपबहादुर खड्का र काँग्रेसका गोरखबहादुर सिंह र दलित सदस्यमा नेपाली कांग्रेसकी रिता कामीको निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति बझाङको निर्वाचनमा सत्ता गठबन्धनको मात्रै उम्मेदवारी परेको थियो ।

आइतबार नवनिर्वाचित प्रमुख नरबहादुर बोहरालाई जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । उपप्रमुखसहित अन्य सदस्यहरुलाई प्रमुख बोहराले पद तथा गोपानीयतको शपथग्रहण गराएका थिए ।

प्रमुख पदमा निर्वाचित बोहरा ०७४ सालको स्थानीयतहको निर्वाचनमा सुर्मा गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्षसमेत हुन् । जम्मा १२ पालिकामध्ये दुई पालिकाको प्रमुख, उप–प्रमुख र एक पालिकामा प्रमुख गरी ५ सदस्य मात्रै जितेको नेकपा एमालेको समन्वय समितिमा बहुमत नपुग्ने भएपछि मनोनयन नै दर्ता गरेको थिएन ।

बझाङमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि २४ जना मतदाता रहेका छन् । जसमा कांग्रेसका ११, एकीकृत समाजवादीका ३, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसाग ५/५ मतभार रहेको थियो ।