बाढीप्रभावित क्षेत्रका बासिन्दाहरु भन्छन्- समयमै पूर्वतयारीमा जुटिदिनुहोस्

0
Shares

धनगढी ।

हरेक वर्षातमा हुने धन जनको क्षति कम गर्न सरोकारवाला निकाय समयमा लाग्नुपर्ने सुझाव प्रभावित क्षेत्रका जनताले दिदै आएपनि समयमा कार्यान्वयन हुन नसक्दा वर्षातमा हुने धन जनको क्षति रोक्न सकिएकोछैन ।

वर्षातका कारण कैलालीका दर्जन बढी गाउँका जनताहरु मौसम विज्ञानको यस वर्षको सूचना सुनेर आत्तिन थालेकाछन् । विगतका वर्षहरुको तुलनामा यस वर्ष बढी पानी पर्ने पूर्वअनुमान गरेपछि नदी किनार र डुबान क्षेत्रका बासिन्दाहरु त्रसित बन्न थालेकाछन् ।

कैलालीका कर्णाली,मोहना ,कन्द्रा काडा,खुटिया लगायत करिब २२ वटा नदी प्रणाली उत्तर दक्षिण भएर बग्ने गरेकाछन् । उक्त नदी तटमा बसेका र नदी मिसिने दोभानहरुमा हुने डुबानले कैलालीको दक्षिण क्षेत्र हरेक वर्ष प्रभावित हुने गरेको छ ।

साविकको लालबोझी गाविस पुरै मोहना र काडा नदीले घेरेको अवस्था छ । टीकापुर नगरपालिका,जानकी गाउँपालिका ,भजनी नगरपालिका, जोशीपुर गाउँपालिका ,कैलाली गाउँ पालिका र धनगढी उप महानगरका मोहना किनारका वस्तीहरु डुवान र कटानको समस्याबाट प्रभावित हुने गरेकाछन् । ती क्षेत्रका बासिन्दाहरु वर्षौदेखि प्रभावित छन तर दीगो समाधान नहुँदा जव वर्षातको समय शुरु हुन्छ तब सो क्षेत्रका बासिन्दाहरु तनावमा समय विताउने गरेका हुन्छन् ।

वर्षात पछि नदीहरुमा आउने बाढीले वस्ती डुवानमा पर्छन र नदी कटानले वस्ती जोखिममा पर्दै गरेपछि सरकारी निकाय , रेडक्रस यस्तै केही दातृ निकाय स्थलगत अवलोकनमा जाने गरेकाछन् ।

साउन भदौ र असोज महिना सम्ममा कैलालीमा बाढी आएको इतिहास छ । नेपाल सरकारका प्रधानमन्त्री र मन्त्रीहरु बाढी आएपछि हेलीकप्टरबाट हवाई निरिक्षण गरेर फर्कने गरेको गुनासो स्थानीयहरुले गर्ने गरेका छन।

भजनी नगरपालिकाका स्थानीय बासिन्दा बाढी प्रभावित बस्तीका एमाले नेता रतनराज रेग्मीका अनुसार हरेक वर्षातमा हवाई निरिक्षण गर्ने तालिका जस्तै बन्ने गरेके बताउनु हुन्छ । प्रधानमन्त्री र मन्त्रीको भ्रमणमा करोडौ खर्च हुन्छ तर पीडितले सामान्य राहत नपाएको अवस्था रहने गरेको उहाँको भनाई छ ।

बाढी आइसकेपछि प्रधानमन्त्री प्रभावित क्षेत्रमा आउनुभन्दा बाढीको पूर्वसन्ध्यामा स्थायी समस्या समाधान गर्नमा समय विताउनुपर्ने सुझाव पनि स्थानीयको छ । हेलीकप्टर समेत बस्न नसक्ने अवस्था हुन्छ जनताको दैनिकी अस्तब्यस्त बनेको हुन्छ तर नेताहरु आएर भाषण गरेका हुन्छन्। प्रधानमन्त्री वा मन्त्रीहरुले निर्देशन दिने गरेकाछन् की राहात उद्धामा कमी नहोस । तर तीनै प्रधानमन्त्री रमन्त्रीले बाढी प्रभावित जनताको लागि राहात र उद्धार सामग्रीको अवस्था के छ भन्दै बाढी आउन भन्दा पहिला जानकारी लिने गरेका हुँदैनन अर्का स्थानीय बासिन्दा चन्द्र भण्डारीले बताउनुभयो ।

कणाली बाहेक अन्य नदीमा बाढी सम्वन्धि पूर्व सूचना दिने मेशिन राखिएको छैन । कैलालीका कर्णाली बाहेकका नदीमा बाढीको अवस्था बारेमा जानकार दिन मानिसहरुको प्रयोग गरिएको छ । बाढी रातको समयमा कति आयो भन्ने एकिन मानिसले गर्न सक्ने अवस्था नहुँदा नदीमा उर्लदो बाढीले वस्ती डुबानमा पर्ने र धन जनको क्षति हुने सम्भावना प्रवल हुने गरेको छ ।

नदीमा बाढी सम्बन्धि सूचना दिन मेशिनको प्रयोग गर्नुपर्ने अवाश्कता देखिन्छ । रातको समयमा मानिसहरु सुतेको बेलामा बाढी आएपछि सूचना दिन नसक्दा झन बढी क्षति हुन खतरा रहेको जानकी गाउँपालिकाका हरिराम चौधरीले बताउनुभयो ।

सूचनाको युगमा पनि प्रविधिको प्रयोग गर्नुको साटो अझै पनि मान्छेबाट काम चलाउन खोज्नु भनेको जनताप्रतिको वेवास्था भएको उहाँका भनाई छ । बाढी बाट जनतालाई बचाउनु भन्दा पनि आफूले कर्म पुरा गरेको जस्तो देखाउन खोजेको आरोप उहाँको छ । अहिले पनि नदीमा लागाउने सूचना प्रणाली दातृनिकायको भरमा पर्ने नेपाल सरकारबाट कस्तो आशा राख्ने प्रभावित क्षेत्रका जनताको प्रश्न छ ।

कैलाली जिल्लामा पर्ने कर्णाली नदीले टीकापुर र जानकी नगर गाउँपालिकाको भविष्य खतरामा पारेको छ भने मोहना र काडा नदीले लालबोझी भजनी थापापुर जोशीपुर लगायतको भविष्य खतरामा पारेको छ । यता मोहनाले धनगढीको श्रीलंका शिविर,फूलवारीका विभिन्न बस्ती र कैलारीका भूइयाफाँटा लागायतका बस्ती निकै जोखिममा परेकाछन् ।

कणाली पश्चिमतिर आएमा सिंगो टीकापुरको अस्तित्व नै खतरामा छ तर यो विषयलाई सरोकारवाला निकायले सामान्य रुपमा लिएर नदी नियन्त्रणका औपचारिकतामा सिमित राखेजस्तो देखिन्छ यदी टीकापुरका भविष्य बारेमा साँच्चै गम्भीर हो भने कणाली नदीको मालझुल क्षेत्रमा गतिलो तटबन्धको आवश्यकता भएको टीकापुरका स्थानीय बासिन्दा झपट बुढाले बताउनुभयो । नहुँदा सम्म केही हुँदैन जव कर्णाली फुटेर पश्च्मि आउन लाग्यो भने कल्पना नगरेको क्षतीको खतरा रहेको उहाँको भनाई छ ।

तर जिल्ला प्रशासन कार्यालयकैलालीका सूचना अधिकारी शिवराज जोशीले यस वर्षका बाढीबाट कम क्षति होस र धनजनको क्षति नहोस भन्नकालागि आफूहरु सचेत रहेको बताउनुभयो । बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्ने र स्थानीतहसंगको सहकार्यमा विपत ब्यवस्थापनको कामलाई समयमा गर्ने उहाँको भनाई छ ।

राहात र उद्धार कार्यकालागि आवश्यक सामग्रीको डाटा संकलन भइरहेको उहाँले बताउनुभयो । राहत सामग्रीको भण्डारको विषयमा पनि कुरा भइरहेको छ उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर सम्भावित दुर्घटना टार्न समयमा सरोकारवाला निकायलाई निर्देशन दिएको बताउनुभयो । असार ५ गते बस्ने बैठकले थप निर्यण गर्ने जानकारी दिनुभयो ।