जिसस प्रमुख चाम्लिङद्वारा पाँच वर्षे कार्यप्रगति सार्वजनिक

0
Shares

खोटाङ ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले आफ्नो पाँच वर्षे कार्यकालमा भएको कार्य विवरण सार्वजनिक गर्नुभएको छ । २०७४ साउन २० मा सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनबाट प्रमुखमा निर्वाचित चाम्लिङले पाँच वर्षको अवधिमा भएका कामको विवरण सार्वजनिक गर्नुभएको हो ।
आफ्नो कार्यकालको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै जिल्लामा जनप्रतिनिधिको पोशाक र लोगो निर्धारण लगायतको काम गरेको चाम्लिङले बताउनुभयो । स्थानीय तह, प्रदेश र सङ्घीय सरकार तथा सङ्घसंस्थाबाट सञ्चालन भएका योजना, कार्यक्रमको अनुगमन, समन्वय र सहजीकरण गरेकोे पत्रकार सम्मेलनमा उहाँले सुनाउनुभयो ।

यस्तै, समृद्ध खोटाङ निर्माण अभियानमा गुणस्तरीय निर्माण सहित जनसेवी प्रशासनका लागि प्रभावकारी अनुगमन र समन्वयको आधारमा कार्य सञ्चालन गर्नेगरी सबैमा मार्ग निर्देशन गरेको पनि प्रमुख चाम्लिङको भनाई छ ।

कोभिड–१९ को महामारीमा जिसस प्रमुखको संयोजकत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति गठन गर्दै अभियान सञ्चालन गरिएको जनाईएको छ । सो समयमा कुल १ लाख ५ हजार रकम प्रदेश नम्बर १ सरकारको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरेको चाम्लिङले जनाउनुभयो ।

यस्तै, जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको ३ करोड २१ लाख रकममध्ये ५४ लाख जिल्ला समन्वय समिति र बाँकी रकम १० स्थानीय तहका लागि विनियोजन गरिएको छ । प्रदेश सरकार अन्तरगत रहेका कार्यालय सञ्चालन तथा व्यवस्थापन समिति प्रमुख रहेर काम गरेको, जिल्ला अस्पतालमा नयाँ स्वास्थ्य उपकरण थप तथा जनशक्ती व्यवस्थापनमा पहल गरेको चाम्लिङले बताउनुहुन्छ ।

जिसस प्रमुख बनेपछि चाम्लिङले ‘विचार सहितको विकास समृद्ध खोटाङ हाम्रो निकास’ भन्ने नारा अघि सार्नुभएको थियो । अघिल्लो निर्वाचनमा जिसस खोटाङ नेकपा (एमाले)को एकल बहुमतमा गठन भएको थियो ।