एमाले अध्यक्ष ओली र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता ,के-के भयो कुराकानी ?



काठमाडौं।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ । आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो ।

ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए । वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच के के कुराकानी भयो त्यो भने थाहा नभएको उनले बताए ।

‘देशमा असंलग्न परराष्ट्र नीति छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने अमेरिकाको पछि लागिरहेका छन् । ओली र श्रेष्ठबीच यसै विषयमा छलफल भएको हुनुपर्छ,’ बजगाईले भने । अमेरिकी सहयोग परियोजना एमसीसी पास पाएपछि पछिल्लो समय नेपालमा अमेरिकी कूटनीति र नेताहरूको भ्रमण बाक्लिएको छ ।

स्थानीय तहको निर्वाचनपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका नेता श्रेष्ठबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ । दुवै नेताबीचको भेटले नेपालको राजनीतिमा भने तरंग सिर्जना गरेको छ । धेरैले यसलाई वाम गठबन्धनबारे छलफल सुरु भएको अर्थमा बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्