मन्त्रालयगत कोष खारेज गर्नुपर्छ : खेलकुदमन्त्री गहतराज

कोषहरु मर्ज गर्न सुझाव, युवालाई रोजगारसँग जोडौं

0
Shares

काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विभिन्न मन्त्रालयगत कोषहरु खारेज गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय युवा परिषद् र शिक्षा पत्रकार सञ्जाल इजोनले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गहतराजले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो–युवा स्वरोजगार कोष, गरिबी निवारण कोष लगायत विभिन्न १४ वटा कोषहरुमा अर्बौ रकम विनियोजन भएपनि उद्धेश्य अनुसारको उपलब्धि भएन । उहाँले सबै निकायलाई मर्ज गरी परिषद्बाट खर्चगर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

मैले सुनेको छु गरिबी निवारण कोषमा २९ अर्ब रुपिया छ, युवा स्वरोजगार कोषमा १४ अर्ब छ, यस्ता धेरै निकायमा रहेका अर्बौ रुपियाँ एउटै निकाय मार्फत खर्च गर्दा धेरै युवाले रोजगारी पाउनेछन् ।

उहाँले युवाको क्षमता विकासगर्न नसक्दा करिब ५० अर्ब रुपियाँ फ्रिज हुने गरेको बताउनुभयो । अहिलेको अवस्थामा युवाको व्यवस्थापन महत्वपुर्ण विषय भएको बताउनुभयो । अहिलेको अवस्थामा बौद्धिक व्यक्तित्व विदेशीनु भयानक चुनौति रहेको उल्लेख गर्दै देशमै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले युवा नीतिको कतिपय बाझिएका विषयलाई संघ र प्रदेश सरकार मिलेर संसोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले हालसम्म तालिम लिएका , रोजगारी पाएका र तालिम लिएपछि विदे पलायन भएका युवाको तथ्याङक राख्नुपर्ने बताउनुभयो । भन्नुभयो–तथ्याङक विश्लोषण गर्नुपर्छ । तालिम लिएर बेरोजगार बसेका युवालाई रोजगारी सिर्जना गर्नुपर्छ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले पर्याप्त बजेट नहुँदा राष्ट्रिय युवा नीति २०७२ मा समेटिएका नीति कार्यान्वयनमा समस्या भएको उल्लेख गर्नुभयो उहाले भन्नुभयो– सबैको धारणा सुनेपछि यस्लाई परिमार्जन गर्ने छौ ।

उहाँले युवालाई विभिन्न तालिम प्रदान गरेपनि बजेट अभावका कारण स्वरोजगार बनाउन नसकेको गुनासो गर्नुभयो । उहाँले युवा उद्यमीको विषयमा कलम चलाउन पत्रकारले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले नीतिमा समेटिएको विषयलाई कार्यान्वयन गर्न परिषद प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यकालयमा युवा लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने दाबी गर्नुभयो ।

कार्यक्रममा परिषदका उपसचिव दिनेश घिमिरेले सरकारले जारी गरेको युवा नीतिको बारेमा जानकारी गराउनुभयो । उहाले युवा नितीमा उल्लेख भएका विषयवस्तुको बारेमा जानकारी गराउनुभएको थियो । लोसपाका केन्द्रीय सदस्य एवं युवा नेता मनिस मिश्रले युवालाई सक्षम बनाउन विभिन्न तालिम आवश्यक रहेको तर्क गर्नुभयो । उहाँले सबै युवा माझ परिषदले गरेका क्रियाकलापबारे जानकारी गराउनुपर्ने बताउदै त्यसका लागि सबै दलका युवा तयार रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अनेरास्ववियुका उपमहासचिव नरेश रोकाया, अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष मदन भट्टराई, अनेरास्ववियुका उपाध्यक्ष मोती विक, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता टेकराज अवस्थी लगायतले सरकारले युवालाई विकासमा जोड्न आग्रह गरेका थिए । उनीहरुको एउटै भनाई थियो–परिषदले युवालाई स्वरोजगार बनाउन तालिम अपरिहार्य छ ।