अमेरिकी सैन्य कमाण्डरको पाँचखालमा अवलोकन, शिवपुरीमा भाषण र वृक्षरोपण


काठमाडाै‌ं ।

नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिन अन्तिम दिन आइतबार पाँचखाल र शिवपुरी पुगेका छन्। पाँचखालको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका हुन्।

संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग बृद्धि गर्दै लैजाने विषयमा छलफल भएको थियो। फ्लिनले नेपाली सेनाले शान्ति स्थापना कार्यमा पुर्याएको योगदानको प्रशंसा गरे। नेपाली सेनाले तालिम केन्द्रका बारेमा जानकारी गराएको थियो। शान्ति स्थापना कार्यमा खटिने सेनाले गर्ने सहयोग तथा उद्धार अभ्यासका बारेमा उनले अवलोकन गरेका थिए।

त्यसपछि शिवपुरीस्थित स्टाफ कलेज पुगे। त्यहाँ फ्लिनले तालिमरत अधिकारीहरुलाई सम्बोधन गरे भने त्यहाँ वृक्षरोपण पनि गरेका छन्। सम्बोधनका क्रममा फ्लिनले नेपाली सेना भरपर्दो जमिनी शक्ति रहेको बताए। संसारकै पूराना सेनाहरुमा नेपाली सेना पनि एक भएको बताए।

यसअघि शुक्रबार सैनीक मुख्यालयमा नेपाली सेनाले गार्डअफ अनर प्रदान गरेको थियो। प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका थिए भने प्रधानसेनापतिले त्यही साँझ रात्रिभोजको आयोजना गरेका थिए। शनिबार माउण्टेन फ्लाइटमा हिमाली दृश्य अवलोकनमा गएका फ्लिन वशन्तपुर क्षेत्रको पनि अवलोकन गरेका थिए। यस्तै फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए। अहिले साँझ नै उनी स्वदेश फर्किने कार्यक्रम रहेको सैनीक प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।