अभियानभन्दा बलियो बोक्सीको आरोप, मधेश बढी प्रभावित

0
Shares

काठमाडौं । 

बोक्सीको आरोपमा २१ वर्षअघि चरम यातना पाएकी महोत्तरीस्थित सिमरदहीकी मरणीदेवी साह स्वयं यस अन्धविश्वास विरुद्धको अभियानमा हुनुहुन्छ । तर, उहाँको जिल्ला मात्र होइन खास गरी मधेशमा बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने कार्यमा कुनै कमी आएन ।

गत साता मात्र मरणीदेवीकै जिल्लामा पुनः बोक्सीको आरोप लगाएर महिलामाथि कुटपिट गरियो । जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले स्थानीय ४५ वर्षीय भूलनराम चमार र २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवीलाई पक्राउ ग-यो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पँगेनीका अनुसार ठूलो धबौलीकी ५३ वर्षीया र ५४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको उजुरी प्राप्त भएका कारण दुई अभियुक्तलाई पक्राउ गरिएको हो । भूलन र सोमारीसहित १०–११ जनाले दुवै महिलालाई शरीरका सबै कपडा च्यातेर निर्वस्त्र पारी कुटपिट गरेको पाइएको पँगेनीले बनाउनुभएको छ ।

दुवै महिलाका छोराहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनीहरूको उजुरीका आधारमा भूलन र सोमारीलाई पक्राउ गरिएको र अन्य स्थानीय बासिन्दाको खोजी भइरहेको एसपी पँगनीले बताउनुभएको छ ।प्रहरीका अनुसार घटनामा स्थानीय बासिन्दा तलेवर राम, भुलन राम, रामु राम, राकेश राम, रवि राम, बहुरीदेवी राम, सोमनदेवी राम, आरतीदेवी राम, पवनदेवी राम र सुटियादेवी राम संलग्न छन् । उनीहरूले बोक्सीको आरोप लगाएर निर्वस्त्र पारी हात, मुक्का, लातीले मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।कुटपिटबाट दुवै महिला घाइते भएका छन् । उनीहरू प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराइरहेका छन् ।

महोत्तरी जिल्लालाई बोक्सीको आरोपका सम्बन्धमा बद्नाम जिल्लाका रूपमा लिने गरिएको बताउँदै बर्दिवास विद्यालयका शिक्षक उमेश पौडेल भन्नुहुन्छ, ‘बोक्सी कुप्रथा विरुद्ध हामी लडिरहेका छौं, गत वर्ष मात्र मान्छे बोक्सी हुन्न कहिल्यै भन्दै अभियान चलायौं, मटिहानी, जलेश्वर, भंगाहा र यहीँ बर्दिवासमा अन्तरक्रियात्मक कार्यक्रम चलायौं, तर जिल्लामाथिको कलंक मेट्न सकेनौं ।’पौडेलका अनुसार अभियान राष्ट्रिय जागरण प्रतिष्ठानले चलाएको थियो । महोत्तरी र अन्य छिमेकी जिल्लामा पनि यस प्रकारका अभियान चलिरहेका छन्, तर कुप्रथा घटेको छैन ।गएको दशैंको अष्टमी र नवमीका दिन महोत्तरीका दुई महिलाले बोक्सीको आरोपमा परिवार र छिमेकीबाट कठोर हिंसा व्यहोर्नुप-यो । महोत्तरी गाउँपालिका–३ मडईकी ४२ वर्षीया शिलादेवी झाले ज्यान नै गुमाउनुभयो । जलेश्वर नगरपालिका–४ सुगाकी सुकमरिया देवीलाई छिमेकीले मलमूत्र खुवाए र चारपाटा मुडेर निर्घात कुटपिट गरे ।

शिलादेवीलाई उनकै देवर सञ्जयकुमारले हथौडाले टाउकोमा हिर्काएर हत्या गरेका थिए । भाउजू बोक्सी भएको र केरा खुवाएर पत्नी रिंकुदेवीको गर्भपतन गराएको बयान उनले प्रहरीलाई दिएका थिए । केही समयअघि जनकपुर आएका एक भारतीय झाँक्रीले शिलादेवी बोक्सी भएको बताएपछि सञ्जयले हत्या योजना बनाएका थिए ।
यस्तै, जलेश्वर नगरपालिका–४ सुगा बस्ने ४२ वर्षीया सुकमरिया देवीलाई छिमेकी रगेश्वर महतोको परिवारले बोक्सीको आरोपमा मलमूत्र खुवाउने, कपाल चारपाटे बनाउँदै निर्घात कुटपिट ग-यो । बेलुका घरअगाडिको बाटोमा निस्किएकी सुकमरियादेवीलाई देखेर आफ्नी १३ वर्षीया नातिनी रोएको भन्दै रगेश्वरको परिवारले बोक्सीको आरोपमा उनीमाथि दुव्र्यवहार गरेको थियो ।

शुरूमा सुकमरियादेवीलाई रगेश्वरका छोरा सिकन्दरले लछारपछार गरेका थिए । पछि परिवारका अरू सदस्य पनि आएर उनलाई मलमूत्र खुवाए, कपाल काटे र कुटपिट गरेका थिए ।बोक्सीको कुविश्वास देशव्यापी छ, तर मधेश प्रदेश सर्वाधिक प्रभावित छ, शिक्षक पौडेल भन्नुहुन्छ, बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ कडाइका साथ लागु गर्न नसकेकै कारण यो अमानवीय व्यवहार कायम छ ।

कानुनमा के छ ?
कानुनअनुसार कसैलाई पनि बोक्सा–बोक्सी भनेर संवोधन गर्नु मात्र पनि दण्डनीय हुन्छ । ‘बोक्सीको आरोप भन्नाले कुनै व्यक्तिलाई बोक्सा, बोक्सी वा यस्तै अन्य नामबाट लाञ्छना लगाउने कार्य सम्झनु पर्छ । कानुनले देहायका कार्य गरे कसुरअनुसार सजाय हुने जनाएको छ
क) बोक्सीको आरोप लगाउने,
ख) बोक्सीको आरोपमा गाली बेइज्जती गर्ने,
ग) बोक्सीको आरोप लागेको व्यक्तिको परिवारको कुनै सदस्यप्रति अपमानजनक व्यवहार गर्ने,
घ) बोक्सीको आरोपमा सामाजिक बहिष्कार गर्ने,
ङ) बोक्सीको आरोपमा बसोेबास गरेका ठाउँबाट निकाला गर्ने,
च) धामी, झाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा यस्तै अन्य कुनै माध्यमद्वारा बोक्सीको आरोप लगाउने,
छ) बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासाायनिक, विषालु वा जैविक पदार्थ प्रयोग गरी वा अन्य कुनै किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी वा नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले अमानवीय वा अपमानजनक व्यवहार गर्ने,
ज) बोक्सीको आरोपमा अंगभंग गर्ने,
झ) बोक्सीको आरोपमा कसैको सम्पत्ति तोडफोड, हिनामिना वा हानी नोक्सानी गर्ने,
माथिका कार्य गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई सजाय हुने व्यवस्था कानुनमा छ ।