सरकारसँग धेरै माग नराख्नुहोस् : प्रधानमन्त्री देउवा



काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीले चाहेअनुसार सरकार नचल्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं शुरू भएको राष्ट्रिय सम्मेलनको उद्घाटनमा कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार धेरै काम गर्ने स्थिति नरहेको बताउनुभयो ।

उहाँले पार्टी सम्बद्ध संघसंस्थाका प्रतिनिधिलाई सरकारसँग धेरै माग नगर्न आग्रह पनि गर्नुभएको छ । नेपाली कांग्रेसको एकलौटी सरकार नभई गठबन्धनको भएका कारण सबैको माग सम्बोधन गर्न नसकिने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो– ‘यो सरकार कांग्रेसको एकलौटी सरकार होइन, त्यसैले सरकारसँग धेरै माग नराख्नुहोस् । बजेटमा धेरै विषय समेटिएको छ, नसमेटिएका विषयलाई विस्तारै पूरा गर्दै जान्छौँ । सबै कुरा एकैचोटि पूरा हुँदैन ।’

प्रधानमन्त्री देउवाले श्रमिकहरूको हक, अधिकार र आवश्यक सुविधा पूरा गराउने मामिलामा भने सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कोभिड महामारीले देशको उद्योगधन्दालगायत सम्पूर्ण कुरामा त्यसको प्रभाव पारेको पनि उहाँले बताउनुभयो ।

देउवाले सरकारले कोभिडविरुद्ध खोप अभियानलाई प्रभावकारी बनाएका कारण महामारीको प्रभाव कम भए पनि रूस–युक्रेनबीचको युद्धका कारण देशको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्