घनश्याम भुसालमाथि कारबाही होला ?

एमाले सचिवालय बैठक

0
Shares

काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टी एमालेभित्र नेता घनश्याम भुसालमाथि अनुशासन आयोगले कारबाहीको सिफारिस गरेसँगै पार्टीभित्र तरंग पैदा भएको छ । नेता भुसालले स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो ।

उक्त अभिव्यक्ति पार्टी हितविपरीत रहेको भन्दै आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकमा अनुशासन आयोगले पार्टी नेतृत्वसमक्ष नेता भुसाललाई कारबाही गर्न सिफारिस गरेको छ ।भुसालबाट अनुशासन उल्लंघन भएको भन्दै अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रीय कमिटीसमक्ष कारबाहीका लागि सिफारिस गर्नुभएको छ ।

भुसाललाई कारबाही गर्न सिफारिस गरेपछि एमालेभित्रै पनि केही नेताहरूले उक्त सिफारिसको आलोचना गरिरहेका छन् । पार्टी एकता प्रक्रियामा रहेका ११ जना नेताहरूले पार्टीलाई एकतावद्ध बनाएर लैजान र कारबाहीका नगर्न अध्यक्ष ओलीलाई दबाब दिँदै आएका छन् । भुसाललाई अनुशासनको कारबाहीको सिफारिस गरेपछि आज सोमबार पार्टीको सचिवालय बैठक बोलाइएको छ ।

केन्द्रीय कमिटिको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरूको पूर्णतालगायतका विषयमा छलफल भएको थियो । एमाले सचिव पद्मा अर्यालले बैठकमा सचिवालय बैठकमा प्रस्तुत हुने एजेन्डा तय भएको बताउनुभयो ।स्थानीय तह निर्वाचनको मत परिणामका बारेमा यसअघि एमालेभित्र पार्टी कमिटीको बैठकहरूमा औपचारिक रूपमा छलफल भएको थिएन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनभन्दा पनि एमालेको अन्तरघातका कारण निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै आउनुभएको थियो । तर एमालेका नेताहरूले एमाले लोकप्रिय मतमा पराजित नभएको दाबी गर्दै आएका छन् । २०७४ सालको स्थानीय तहमा २९४ ठाउँमा प्रमुख पदमा जितेको एमालेले यसपटकको स्थानीय तह निर्वाचनमा २०५ ठाउँमा मात्रै चुनाव जितेको छ । यसपटकको स्थानीय तहको निर्वाचनमा ६ वटा महानगरमै एमाले पराजित बन्न पुगेको छ ।