जुवाको खालबाट ४४ हजारभन्दा बढी नगद बरामद, ७ जना जुवाडे पक्राउ



लमजुङ । प्रहरीले जुवाको खालबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ । बेसीशहरको एक स्थानीयको घरमा जुवा खेल्दै गरेका जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

हिजो (शनिवार) दिउँसो २ बजे बेसीशहर–७ पुरानो बैंकचोकस्थित एक स्थानीयकोे घरमा जुवा खेल्दै गरेका ७ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटेको प्रहरी टोलीले घरको मालिकसहित ७ जनालाई पक्राउ गर्नुका साथै ४४ हजार ७ सय ७० रुपियाँसमेत बरमद गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा बेसीशहर नगरपालिकाका ३ जना, मस्र्याङ्दी गाउँपालिकाका २ जना, दोर्दीका एक जना र नवलपरासीका १ जना रहेका छन् ।

उनीहरुलाई भोलि (सोमबार) जिल्ला प्रशासन कार्यालय, लमजुङमा म्याद थपको लागि उपस्थित गराउने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

लमजुङ प्रहरीले चालु आर्थिक वर्ष २०७८÷०७९ मा जुवा खेल्ने र खेलाउने ८० जना पुरुष र १ महिला पक्राउ गरेको छ भने उनीहरुको साथबाट आठ लाख ६५ हजार दुई सय रुपियाँ वरामद गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्