फेरि समस्या नदोहोरियोस्



दुई सातासम्म रोकिएको उपत्यकाको फोहोर शुक्रबारबाट उठ्न शुरु भएको छ । सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिलसाइटका स्थानीयबासीको माग सम्बोधन गर्ने विषयमा सम्झौता भएपछि बल्ल फोहोर उठेको हो । काठमाडौं महानगरपालिकाले स्थानीय संघर्ष समितिलाई बेवास्ता गरी जबरजस्ती फोहोर लैजान खोजेपछि समस्या थप बल्झिएको थियो । जबरजस्ती फाहोर लैजाँदा दुई पक्षबीच भिडन्त भएको थियो ।

प्रहरी र स्थानीयबासीको तर्फबाट करिब एक दर्जन बढी घाइते भएका थिए । स्थानीयसँग वार्ता नगरी फोहोर लैजाँदाको गलत परिणाम महसुस गरी सरकारले स्थानीयसँग वार्ता गर्ने जनाएको थियो । लगत्तै स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, त्यहाँका स्थानीय तहका प्रतिनिधिसँग वार्ता भएर समस्या समाधान भएको थियो ।त्यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवा, शहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग फोहोर विसर्जन गर्न सहयोग गरिदिन हारगुहार गरेका थिए । लगत्तै भएको वार्तामा टाइमलाइनअनुसार सम्झौता भएपछि फोहोर विसर्जन शुरु भएको छ । अहिलेको फोहोर विसर्जन कति दिनका लागि हो भन्ने विषयमा अन्योल कायमै छ ।

अघिल्ला सरकारको पालामा पटकपटक भएका वार्ताबाट गरिएको सम्झौता कार्यान्वयन नभएका कारण आन्दोलनले उग्र रुप लिएको थियो । अब सरकार सचेत भएर स्थानीयको माग पूरा गर्ने विषयमा तत्काल कदम चलाउनु जरुरी छ । फोहोर व्यवस्थापन गर्ने मुख्य जिम्मा दिएको काठमाडौं महानगरपालिकाले स्थानीयको माग पूरा गर्न पूर्ण रुपमा लागिपर्नु जरुरी छ । कामपा प्रमुख साहले माग पूरा गर्छु भनेर मुखले भनेर मात्र समस्या समाधान नहुने देखिएको छ ।विजयी घोषणा भएको दिन अर्थात् जेठ १४ गते सिसडोल पुग्दा गरेको वाचा पूरा गरेपछि मात्र फोहोर व्यवस्थापनमा सहज हुने देखिएको छ । मनपरी निर्णय गरी सम्झौता गर्ने अनि कार्यान्वयन नगर्ने परम्पराको कारण फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो ।

स्थानीय र कामपाबीचको सम्झौतालाई इमानदारितापूर्वक कार्यान्वयन गरे कतैबाट समस्या आउँदैन । स्थानीयले उठाएका मुआब्जा, रोजगारी, अस्पताल निर्माण, उद्योग स्थापना, जग्गा अधिग्रहणलगायतका मुख्य मागलाई तत्काल सम्बोधन गर्न जरुरी भसकेको छ । यसका लागि सरकारले बजेट व्यवस्थापन गर्ने जनाइसकेको छ । वास्तवमा वैज्ञानिक रुपमा फोहोर व्यवस्थापन गर्दा कुनै समस्या आउँदैन ।

घरबाट फोहोर संकलन गर्दा गल्ने मात्र फोहोर ल्यान्डफिल साइटमा लैजाँदा विकराल समस्या आउँदैन । कम परिमाणमा फोहोर लैजाँदा ल्यान्डफिल साइटको क्षमता वृद्धि हुन गई व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्न सकिन्छ । त्यसका लागि सबै सरोकारवालासँग गम्भीर छलफल गर्नु जरुरी छ । महानगरको वातावरण व्यवस्थापन विभागले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ ।

पटकपटक फोहोर विसर्जनमा समस्या आउने बाटो कसैले कोर्नु हँुदैन । कामपा र शहरी विकास मन्त्रालयले तत्काल समस्या समाधान गर्ने बाटो औंल्याउनुपर्छ होइन भने उपत्यकामा फोहोर व्यवस्थापनको समस्या सधैं रहन्छ । फोहोरमैला व्यवस्थापन गर्ने विषयमा तत्काल कार्ययोजना तयार गरी काम शुरु गर्नुपर्छ । फेरि ल्यान्डफिल साइटका बासिन्दाले आन्दोलन गर्ने वातावरण नबनोस् ।

प्रतिक्रिया दिनुहोस्