वीरगन्ज ।
सत्तारुढ दलको एक घटक जसपाले पर्सामा जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेससँगको गठबन्धन तोडेको छ । उसले कांग्रेससँग गठबन्धन तोडेलगत्तै एमालेसँग गरेको गठबन्धनमा जिल्ला समन्वय समिति (जिसस) पर्साको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धनको प्यानल विजयी भएको हो ।
उक्त निर्वाचनमा जिसस पर्साको प्रमुखमा जसपाका निरञ्जन साह सोनार र उपप्रमुखमा एमालेका पुरन कुर्मी निर्वाचित हुनुभएको हो भने बाँकी ७ सदस्यमा पनि जसपा एमालेकै गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार जिससको प्रमुखमा सोनार १५ मतका साथ निर्वाचित हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सरोज चौरसियाले भने १३ मत मात्रै पाउनुभएको छ । यस्तै उपप्रमुखमा एमालेका कुर्मी पनि १५ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसकी कुमारी सोनीले भने १३ मत मात्रै पाउनुभएको छ । जिससको ७ जना सदस्यमा जसपाका विजयकुमार राउत, राजपति देवी, व्यान्तिदेवी कुर्मी, एमालेका रामप्रसाद यादव, सुशीला कामी, श्रीकान्तिदेवी थरूनी र सलिम मिया अन्सारी निर्वाचित भएका छन् । सदस्यमा अरू सबैले १५÷१५ मत पाउँदा जसपाका राउत भने १६ मत पाएर विजयी हुनुभएको हो ।
शुक्रबार भएको निर्वाचनमा पर्साका १४ वटा पालिकाका प्रमुख र उपप्रमुख गरी २८ जनाले मतदान गरेका थिए । सत्ता गठबन्धनको शीर्ष नेतृत्वले जिससको निर्वाचनमा पनि सत्तारुढ दलहरूकै बीच गठन गठबन्धन गर्न निर्देशन दिएको थियो । तर, जिसस पर्साको निर्वाचनमा भने सत्तारुढ दल जसपाले भने एमालेसँग गठबन्धन गरेको उम्मेदवारी दिएको थियो ।
कांग्रेसले भने सबै पदमा एकल उम्मेदवारी दिएको थियो । उसलाई १ पालिका प्रमुख जितेको लोसपाले समर्थन गरेको थियो । पर्सामा रहेको १४ स्थानीय तहमा वैशाख ३० को निर्वाचनमा प्रमुख र उपप्रमुख गरी कांग्रेसले १२ पद, एमालेले १० पद, जसपाले ५ र लोसपाले १ जना प्रमुख पद जितेको थियो ।











प्रतिक्रिया